नेपाली क्रिकेट टिम आज साँझ ओमान प्रस्थान गर्दैछ। आइसिसी विश्वकप २०२२ को विश्व छनोटअघि हुने चार देश सम्मिलित टी-२० सिरिजका लागि नेपाली टिम ओमान प्रस्थान गर्न लागेको हो।
ओमान जाने नेपाली टिम १७ सदस्यीय छ। यसअघि नेपालले १६ सदस्यीय टिम घोषणा गरे पनि अन्तिममा स्पिनर सागर ढकाललाई पनि समावेश गरेको हो।
बायाँ हातेस्पिनर सागरले टी-२० सिरिजमा मौका पाउनेछन्। टी-२० सिरिजपछि विश्वकप छनोटका लागि नेपाली टिम घोषणा हुनेछ।
सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टिमबीच प्रतिस्पर्धा हुनेछ।
विश्वकपअघि नेपालले तयारीस्वरुप सिरिज खेल्न लागेको हो। सिरिज माघ २८ सुरु भएर फागुन २ मा सकिनेछ। नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र तेस्रो खेल फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ।
ओमानमै आगामी फागुन ६ गतेदेखि हुने विश्व छनोटमा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।
समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छ्न्।
समूह १ र २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।
नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, आसिफ शेख, अभिनास बोहरा, जितेन्द्र मुखिया, शाहब अलाम, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम, सागर ढकाल.
अफिसियल
सुमनराज कार्की – टिम व्यवस्थापक
पुबुदु दसानायके- प्रमुख प्रशिक्षक
धम्मीका प्रसाद - बलिङ कन्सल्ट्यान्ट प्रशिक्षक
रमन सिवाकोटी - प्राविधिक विश्लेषक
विक्रम न्यौपाने - फिजियो