जमानामा मैतिदेवी क्षेत्रमा कहलिएका थिए, दिवाकर घले। शंकरदेव कलेज होस् वा यस क्षेत्रमै उनको आँटको मनग्गै कहानी सुनिन्थ्यो। शंकरदेव कलेजमा उनको नामसँगै खेल क्षेत्रको लगाव गजबकै थियो। मैतिदेवीको प्रतिष्ठित आर्मी परिवारको कुलघरानामा जन्मेको ठिटो पढाइसँगै कुदाइमा बढी विश्वास राख्थ्यो।
शंकरदेवको बास्केटबल र भलिबल टिम निकै चर्चित थियो। धेरै वर्षसम्म कलेज पढ्दा उनी बास्केटबल खेलाडी र व्यवस्थापक बने।
नेपालमा भर्खरै क्रिकेटको चहलपहल बढ्न थालेको थियो। नेपाल क्रिकेट संघ (क्यान) स्थापना भएको दशकौं भए पनि क्रिकेट शौखीन र क्लासमा सीमित थियो। त्यतिबेला दिवाकर घले नेपालकै पुरानो क्लब महावीर क्लबको अध्यक्ष भैसकेका थिए। कुनै जमानामा फुटबलको चर्चित क्लब महावीरको नेतृत्वमा पुगेपछि घलेले फुटबलसँगै क्रिकेटलाई पनि अगाडि बढाउने सोच बनाए।
त्यतिबेला नेपालमा जय ट्रफी नामक जिल्लाहरूले भाग लिने एक मात्र राष्ट्रिय क्रिकेट प्रतियोगिताले सारा क्रिकेट खेल धानेको थियो। २०५६ सालमा काठमाडौं जिल्ला क्रिकेट संघले उपाधि जितेको थियो। उपाधि जित्दा घले व्यवस्थापक थिए।
टुँडिखेलको खुला चौरमा महावीर कप क्रिकेट प्रतियोगिता सुरू गरेर घलेले नीजि क्लबहरूलाई क्रिकेटमा अगाडि बढ्न सकिने सन्देश दिएका थिए।
लगातार आधा दशकसम्म टुँडिखेलको खुल्ला चौरमा हजारौं दर्शकमाझ महावीर कपले यति लोकप्रियता पायो कि थन्केका पुराना क्रिकेट क्लबदेखि राजधानीमा नयाँ क्रिकेट क्लबहरू पनि मैदानमा बाजी मार्न तयार देखिए। सम्भवत: नेपालमा व्यवसायीक क्रिकेटको सुरूवात पनि त्यहीँ थियो भन्न सकिन्छ। किनभने त्यतिबेला नेपाली क्लबहरूले कलकत्ता, बनारस र लखनउबाट रणजी प्लेयर टिममा भित्र्याएर महावीर कप उपाधि जित्ने प्रयास गरेका थिए।
नेपाली क्रिकेटमा व्यवसायीक दौडको नमुनाका रूपमा महावीर कपलाई भव्य र सभ्यरूपमा अगाडि बढाउँदै गर्दा तत्कालिन खेलुकद मन्त्री पूर्णबहादुर खड्का, कांग्रेस नेता प्रकाशमान सिंह लगायतले खुलेरै प्रंशसा गरेका थिए।
महावीर कप युथ क्रिकेट क्लब, विराटनगरले लगातार दुई वर्षसम्म उपाधि जितेको थियो। महावीर क्लबले तेस्रो पल्टको प्रयासमा उपाधि जितेको थियो। प्रतियोगितामा मोफसलको रुपन्देहीको तिरूपती खुकुरी क्लब पनि भाग लिने गरेको थियो। भारतबाट विवेकानन्द क्रिकेट एकेडेमी, ग्वालियर र इस्ट वेस्ट क्लब दिल्लीले पनि भाग लिएका थिए।
त्यतिबेला टुडिँखेलमा टेन्ट हालेर रातभर मैदान र सामाग्री रुग्न महावीरका स्वयंसेवकहरू त्यहिँ सुत्ने गर्दथे। पालैपालो टुँडिखेलमा रात बिताउनेमा घले पनि स्वयं हुन्थे। क्रिकेटका लागि घर छाडेर टुँडिखेलको बास रुचाउने दिवाकर घले साच्चैँ खेलप्रेमी थिए र क्रिकेटका लागिअन्धभक्त। घलेका भाइ राजन क्रिकेट खेल्थे महावीर क्लबबाट, घले भने महावीर कै ‘बी’ टिमबाट। र उनी बढी व्यवस्थापकीय जिम्मेवारी नै सर्वोपरी ठान्थे र त्यसैमा लागि रहे।
सन् २००५ मा नेपालमा आयोजना भएको एसिसी यू-१९ कप सफल पार्न घलेको महत्वपूर्ण भूमीका थियो। एसियाका १५ देशले भाग लिएको प्रतियोगितामा घलेले राजधानीका चार मैदानको स्तरोन्नती गर्दै प्रतियोगिता सफल पारे। तत्कालिन अध्यक्ष जयकुमारनाथ शाहले काठमाडौंमा क्रिकेट खेल्ने मैदान टुँडिखेल नै भएकाले जसरी पनि टुँडिखेलमा प्रतियोगिता गर्नु पर्ने बताएका थिए। त्यहीँअनुसार घलेले घोडेजात्रा हुने स्थानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न योग्य पिच र आउटफिल्ड तयार पारेका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदान, टुँडिखेल मैदान, पुल्चोक इन्जिनियरिङ मैदान र भक्तपुरको वीरेन्द्र सैनीक महाविद्यालयको मैदानलाई स्तरीय बनाउँदै खेल सञ्चालन भएका थिए। घले प्रतियोगिताका दौरान टुँडिखेल मैदानको भेन्यू म्यानेजर बनेका थिए। प्रतियोगिताको फाइनलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
सन् २०१० मा नेपालमा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ मा उनी नेपाली क्रिकेट टिमको व्यवस्थापक थिए। सो प्रतियोगिताको फाइनलमा नेपालले अमेरिकालाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो। नेपाली टिमले पहिलो पटक आधिकारिक प्रतियोगिताको उपाधि उचाल्दा घले पनि व्यवास्थपाकीय भूमिकामा सफल भए।
यसरी नेपाली क्रिकेटको व्यवासायीक चरणलाई टुँडिखेलको खुला मैदानबाट उद्घोष गर्ने दिवाकर घले यतिबेला नेपाल क्रिकेट संघको दाउपेचमा परेका छन्। काठमाडौं जिल्ला संघको अध्यक्ष भएपछि केन्द्रीय सदस्य र उपाध्यक्ष समेत बनेका घलेलाई राजनीतिक दाउपेचमा पारियो।
घले २०५८ देखि २०७२ सम्म क्यानको सदस्य बनेका घले त्यसपछि चार वर्ष उपाध्यक्षको भूमीमा सक्रिय रहे। तर २०७६ मा उनको सदस्यता नवीकरण हुन सकेन।
आइसिसीको निर्णयअनुसार क्यानले २०७१/०७२ को पेश्की फर्छ्यौट गर्न सूचना निकालेको थियो। त्यहीँअनुसार घलेले पेश्की पछ्यौट पनि गरिसकेका थिए। तर, निर्वाचनका लागि बनाइएको स्वतन्त्र समितिले ७०/७१ पेश्कीलाई देखाएर सदस्यता खारेज गरेको थियो। घलेसहित २ सय जनाको सदस्यता खारेज भएपछि त्यतिबेला नै नियतवस खारेज भएको भन्दै विरोध भएको थियो। यसको विरोधमा विनोद मैनाली सर्वोच्च अदालत पुगेका थिए। जसमा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो।
तर घले, उत्तम कर्माचार्य र रतन कठायतले अदालतको ढिलासुस्तीका कारण निर्वाचनअघि कुनै आदेश पाउन सकेनन्।
घले लगायत सदस्यता पाउन र निर्वाचन रोक्न भनी अदालतमा निवेदन दिन खोज्दा अध्यक्ष चुतरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलले रोकेका थिए। उनीहरूले क्यानको विवादलाई साम्य पार्न गरेको प्रयास विफल हुने भन्दै पछि क्यानमा भित्र्याउने बचन दिएका थिए। पेश्की पर्छ्यौट भइसक्दा घलेलाई क्यानले डेढ वर्षपछि क्रिकेट समितिको सहसंयोजक बनायो। तर सो समितिलाई कुनै पनि टिओआर नदिइ काम गर्न दिइएन। अहिले समिति पुनर्गठन भइसकेको छ।
क्यानको पदाधिकारीको रूपमा काम गर्दा क्यानकै कामका लागि लिएको रकम आर्थिक वर्ष २०७१/७२ को अडिट रिपोर्टमै फर्स्यौट गरेको घलेको भनाइ छ। उक्त अडिट रिपोर्टलाई क्यानको साधारणसभा र बोर्ड बैठकले समेत पारित गरी २०७७ असोज ६ गते विज्ञप्तिमार्फत सबैलाई जानकारी समेत गराएको थियो। उक्त अडिट रिपोर्ट आइसिसी समेत पठाइएको थियो।
त्यसअघि २०७२ मंसिरको अन्त्यमा भएको क्यानको निर्वाचनमा घले उपाध्यक्षमा निर्वाचित भएका थिए। अन्य सबै पदमा सर्वसम्मत भए पनि उपाध्यक्ष पदमा भने निर्वाचन भएको थियो। निर्वाचनमा घले र शैलेश चौधरी विजयी भएका थिए।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट क्यान निलम्बनको अवस्थामा नेपाली क्रिकेटको विवाद अन्त्यका लागि घले क्यानका सबैभन्दा सक्रिय पदाधिकारीको अग्रपंक्तिमा रहे।
२०७३ सालमा घलेकै अगुवाइमा काठमाडौंमा साधारणसभा भएको थियो।
क्यानको विवादका लागि गठन भएको सल्लाहकार समूहले बनाएको विधान संसोधन व्यवस्थापन गर्न पनि घलेको भूमीका थियो। एक वर्षपछि क्यानको विशेष साधारणसभाले हुबाहु पास गरेपछि क्यानको विवाद समाधान उन्मुख भएको थियो।
त्यसपछि संसोधित विधान अनुसार जिल्ला, प्रदेश, केन्द्रीय निर्वाचन सम्पन्न क्यानको विवाद अन्त्यसँगै आइसिसीबाट समेत शर्तसहित निलम्बन फुकुवा भएको थियो।
जसका कारण २०७१ देखि क्यानलाई काम गर्न दिने प्रयास विफल भएको थियो। समानान्तर समिति बनाएर क्यानविरूद्ध गरिएको अवैधानीक कारबाहीदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मुद्दामा सफाइ पाउनमा घले लगायतका व्यक्तिको महत्वपूर्ण भूमीका थियो।
सीमित व्यक्तिलाई स्थापित गराउने खेल, राष्ट्रिय खेलकुद परिषद्को स्वर्थ लगायत सबैलाई चिर्दै क्यानको अस्तित्व र विधानलाई जोगाउने लामो संघर्षमा घलेको नेतृत्वदायी भूमिका रह्यो।
तर उनै घलेको प्राविधिक कारणले सदस्यता नवीकरणमा समस्या आयो। जसका कारण घलेले २०७६ को निर्वाचनमा भाग लिन पाएनन्।
अहिले सबै झमेला मुक्त भएपछि पदपूर्ति गर्दै घलेलाई काठमाडौं जिल्ला क्रिकेट संघमा फर्काइएको छ। काठमाडौं जिल्ला क्रिकेट संघमा फर्किएसँगै उनी नेपाल क्रिकेट संघको आगामी साधारणसभा हुने दुई पदको निर्वाचनमा फेरि भिड्ने चर्चा छ। जिल्ला र प्रदेशका प्रतिनिधिले चाहना राखे मात्र आफू क्यानमा फर्कने घले बताउँछन्।
हुन त उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को उपमहासचिव पनि भए। तर महावीर फुटबल क्लबको यात्रा ए, बी र सी डिभिजनमा घुमिरहँदा उनले क्रिकेटमा भने उपल्लो तहमै राखेर आफ्नो यात्रालाई जारी राखे।
लामो समय काठमाडौ क्रिकेट संघको अध्यक्ष भएका घले क्रिकेटकै विकासमा लागि परेका छन्। महावीर क्लब हुँदै महावीर कप, राष्ट्रिय टिमको व्यवस्थापकदेखि क्यानको उपाध्यक्षसम्मको यात्रामा घलेको नेपाली क्रिकेटमा आफ्नै अलग पहिचान बनिसकेका छन्।
प्राय: मैदानमा ट्रयाक/हाफ पाइन्टमै भेटिने घले व्यवस्थापकीय जिम्मेवारीमा सधैं अब्बल मानिन्छन्। प्रतियोगिता आयोजना होस् वा टिमको जिम्मेवारी उनी सधैँ तत्पर देखिन्छन्। केहि कडक बोली र झन्नक हुने उनको बानी नचिन्नेको लागि भने कहिलेकाँही कठिन बनिदिन्छ। तर जसले नजिकबाट उनलाई नियाल्छ उनको कमलो मन र सहयोगी तनलाई सधैं आदरभावले हेर्नेगर्छ।
क्रिकेटको विकासक्रममा राजनीतिक हस्तक्षेप र व्यक्तिवादी सोच नै सधैँ अवरोधका रुपमा रहेको घलेको भनाइ छ। त्यसका बावजुद नेपाली क्रिकेटले प्राप्त गरेको सफलता कुनै अन्यभन्दा कम नरहेको घलेको तर्क रहेको छ। तल्लोतहदेखि क्रिकेटको संरचना नबन्नुनै नेपाली क्रिकेटको सबैभन्दा ठूलो कमजोरी रहेको उनको ठम्माइ छ।
उमेर समूह र स्कुल-कलेज क्रिकेट यसको विकासको आधारस्तम्भ हुन्, त्यसपछि बल्ल प्रदेशस्तर र राष्ट्रिय लिगको अवधारणा ल्याउनु पर्दछ। यस्ता प्रतियोगिता क्यानले गर्नु पर्ने घले बताउँछन्। संघले क्रिकेट विकासमा ल्याएका कार्यक्रमहरूलाई राज्यले महत्वको विषयभित्र राखेर अगाडि बढाएमा समयसँगै खेलको विकासक्रम अगाडि बढ्ने घले बताउँछन्। खेल्ने मैदान पहिलो आवश्यकता हो, त्यसपछि प्रतियोगिता र व्यवस्थापन।
मुलुक चिनाउने महत्वपूर्ण माध्यममा रूपमा रहेको क्रिकेटलाई खेलकुद क्षेत्रले महत्वको विषयभित्र राखेर अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको घले बताउँछन्।