वेष्ट इण्डिजविरूद्धको एकदिवसीय सिरिज भारतले एक खेल अगावै जितेको छ।
बुधबार अहमदावादमा भएको दोस्रो खेलमा वेष्ट इण्डिजलाई ४४ रनले हराउँदै घरेलु टोली भारतले ३ खेलको सिरिज एक खेल अगावै २-० ले जितेको हो।
भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४५.५ ओभरमा अलआउट हुँदै १९३ रनमा समेटिएको थियो।
उसका लागि शमब्राह ब्रक्सले सर्वाधिक ४४ रन बनाए। यस्तै अकेल होसेनले ३४, साई होपले २७, ओडेन स्मिथले २४, ब्रेण्डन किंगले १८ र फाबियन आलेनले १३ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
भारतका लागि प्रसिद्ध कृष्णाले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभरमा ३ मेडन राख्दै १२ रन खर्चिए। त्यस्तै, शार्दुल ठाकुरले दुई, दीपक हूडा, वासिङ्टन सुन्दर र मोहम्मद सिराजले एक/एक विकेट हात पारे।
त्यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३७ रन बनाएको थियो।
उसका लागि मध्यक्रमका ब्याटर सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले।
उनले ८३ बलमा पाँच चौकाको मद्दतमा ६४ रन बनाए।
त्यस्तै, केएल राहुलले ४९, दीपक हूडाले २९, वासिङ्टन सुन्दरले २४, ऋषभ पन्त र विराट कोहलीले समान १८-१८ रनको योगदान दिए। युजवेन्द्र चहल ११ रनमा नटआउट रहँदा कप्तान रोहित शर्मा ५ रनमा आउट भए।
वेष्टइण्डिजका अल्जारी जोसेफ र ओडेन स्मिथले दुई-दुई विकेट लिए।
फाबियन आलेन, जेसन होल्डर, अकिल होसेन र केमार रोचले समान एक-एक विकेट लिए।
यसअघि पहिलो खेलमा भारतले वेष्टइन्डिजलाई ६ विकेटले हराएको थियो।
अब भारत र वेष्ट इण्डिजबीचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ।