नामिबियाका दायाँ हाते तीव्र गतिका रूबेन ट्रम्पलम्यानले इएसपिएन क्रिकइन्फो अवार्ड २०२१ अन्तर्गत एसोसिएट बलर अवार्ड जितेका छन्।
क्रिकेटको चर्चित पोर्टल क्रिकइन्फोले एसोसिएट बलरको अवार्डका लागि सार्वजनिक गरेको मनोनयन परेका अरू चार जना बलरलाई पछि पार्दै रूबेनले अवार्ड हात पारेका हुन्।
आइसिसी टी-२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका २३ वर्षीय रूबेनले स्कटल्यान्डविरुद्ध टी-२० विश्वकपमा ३ विकेट लिँदा १७ रन खर्चिएका थिए।
मनोनयनमा नेपालका कप्तान सन्दीप लामिछाने पनि परेका थिए। यस्तै नामिबियाका जान फ्राइलिङ्क तथा जेजे स्मिथ र नाइजेरियाका पिटर अहो पनि मनोनियमा थिए।
अवार्डमा नेपालका कप्तान सन्दीप रूबेनको नजिक रहेको क्रिक इन्फोले जनाएको छ।
सन्दीपलाई पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलका आधारमा अवार्डको मनोनयनमा राखिएको हो।
उनले गत सेप्टेम्बर १० मा पिएनजीविरुद्धको एकदिवसीय खेलमा ६ विकेट लिँदा ११ रन खर्चिएका थिए। यो सन्दीपको एकदिवसीय खेलको उत्कृष्ट प्रदर्शन हो।