चार देश सहभागी टी-२० सिरिजअन्तर्गत ओमानले नेपाललाई १३६ रनको लक्ष्य लिएको छ।
अल अमरेत रंगशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन जोड्यो।
ओमानका लागि कप्तान जीशन मक्सूदले सबैभन्दा बढी नटआउट ४३ रन जोडे। उनले ४१ बलमा ४ चौका र १ छक्का हिर्काए।
ओमानका ओपनरद्वय कश्यप प्रजापति ११ रन र जतिन्दर सिंह १३ रनमा आउट भए। प्रजापतिलाई अभिनास बोहराले बोल्ड गर्दा जतिन्दरलाई आरिफले आसिफ शेखबाट क्याच गराए।
यस्तै शोइब खानलाई ११ रनमा कप्तान सन्दीप लामिछाने र आयान खानलाई कमलसिंह ऐरीले ११ रनमै आउट गरे। दुवैको क्याच पनि आसिफले नै लिएका थिए।
मोहमद नदीमले ३१ रन र नदीम खुसी शून्यमा आउट भए। दुवैलाई अभिनासले १८ ओभरमा आउट गरे।
बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। नेपालको राष्ट्रिय टिमका लागि पहिलो पटक कप्तानी गरेका सन्दीप लामिछानेले १ विकेट लिए। आरिफ शेख र कमलसिंह ऐरी १-१ विकेट लिए।
टी-२० मा डेब्यू गरेका सागर ढकालले विकेट लिन सकेनन्। उनले ३ ओभरमा ३६ रन खर्चिए।
यही सिरिजको दोसो खेलमा नेपालले शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ।
यो सिरिजलगत्तै नेपालले विश्वकप क्वालिफायर खेल्नेछ।