चार देश सम्मिलित टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ। ओमानमा भइरहेको सिरिजमा नेपाललाई युएईले २५ रनले पराजित गरेको हो।
युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १६७ रन जोड्न सक्यो।
नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन जोडेर आउट भए भने आसिफ शेखले २९ बलमा ३४ रन जोडे। आरिफ शेख ११ रनमा आउट भए।
१८औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी पनि ४१ रनमा आउट भएका थिए। ऐरीले ३३ बलमा ५ चौका हिर्काए।
टी-२० डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रन जोडे। अन्तिम बलमा आउट भएका उनले २ चौका र २ छक्का हिर्काए। शरद भेषवाकरले नटआउट १० रन जोडे।
बलिङमा युएईका रोहान मुस्ताफा र करिफ दाउदले २-२ विकेट लिए भने जुनइद सिद्धिकीले १ विकेट हात पारे।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ३ विकेटको क्षतिमा १९२ रन जोड्यो।
युएईका लागि चिराग सुरीले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ८४ रन जोडे। ५३ बल खेलेका सुरीले ५ चौका र ५ छक्का हिर्काए।
रोहान मुस्ताफाले ३५ बलमा ४९ रन जोडे।
बलिङमा नेपालका साहब अलाम, सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिए। ८ बलर प्रयोग गरेको नेपालका लागि कप्तान सन्दीप र कमलसिंह ऐरीले मात्र ४-४ ओभर बलिङ गरे।
यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो।
सिरिजमा नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ।
सिरिजपछि नेपालले ओमानमै टी-२० विश्वकप छनोट खेल्नेछ। छनोट फागुन ६ गतेदेखि सुरु हुनेछ।