चार देश सम्मिलित टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा अहिले नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ।
ओमानको मस्कटस्थित अमेरत मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि आयरल्यान्डले ब्याटिङ गरिरहेको छ।
सिरिजमा पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गरेको थियो। सो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेका थिए।
दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो। नेपाललाई युएईले २५ रनले पराजित गरेको थियो। युएईले सुरुवाती दुई खेलमा जित हात पारे पनि आज भएको खेलमा ओमानसँग हार बेहोर्यो।
आयरल्यान्ड भने खेलेका दुई मध्ये एक खेलमा जित हात पार्दा एक खेलमा पराजित भएको थियो। आयरल्यान्डले पहिलो खेलमा ओमानलाई हराउँदा आइतबार भएको दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।
टी-२० मा नेपाल र आयरल्यान्डबीच अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ। दुवै खेलमा आयरल्यान्ड विजयी भएको छ। आयरल्यान्डले नेपाललाई सन् २०१९ मा १३ रन र २०१५ मा ८ विकेटले पराजित गरेको थियो।
नेपालले आइसिसी टी-२० विश्वकपको छनोटको तयारीस्वरूप टी-२० सिरिज खेलेको हो।
नेपालले फागुन ६ गतेदेखि ओमानमै हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ।