अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी-२० वरीयतामा नेपाल खस्किएको छ।
आईसीसीले सोमबार अपडेट गरेको नयाँ वरीयता अनुसार नेपाल १ स्थान तल झरेर १३ औं स्थानमा पुगेको हो। यसअघि नेपाल १२औं स्थानमा थियो।
ओमानमा सोमबार सम्पन्न चारदेशीय टी-२० सिरिजमा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो।
नेपालले पहिलो खेलमा घरेलु टोलीलाई हराए पनि त्यसपछि लगातार दुई खेलमा हार व्यहोरेको थियो।
सोमबारको अन्तिम खेलमा आयरल्याण्डसँग पराजित भएको नेपाल वरियतामा खस्किएको हो।
यस्तै आयरल्याण्डलाई नेट रनरेटले पछि पार्दै सिरिजको उपाधि जितेको यूएईले आइसिसी वरियतामा नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ।
एसोसिएटबाट सबैभन्दा अगाडि रहेको युएईले १८७ रेटिङ पाएको छ। यस्तै नेपालले १८६ पाउँदा नेपालपछि १४ औं स्थानमा रहेको स्कटल्याण्डले १८५, १५औं स्थानमा रहेको आयरल्याण्डले १८४ रेटिङ पाएको छ।
ओमान भने १८औं स्थानमा यथावत छ।
आगामी शुक्रबारदेखि ओमानमै नेपालले टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए खेल्दैछ।