क्रिकेट आयरल्यान्डले मंगलबार ट्विटरमा एक भिडियो पोस्ट गर्दै नेपाल क्रिकेट टिमलाई धन्यवाद र शुभकामना दियो।
नेपाल र आयरल्यान्डबीच सोमबार भएको टी-२० खेलमा नेपालले देखाएको खेल भावनाको कदर गर्दै क्रिकेट आयरल्यान्डले ट्विट गरेको थियो।
‘पछिल्लो २४ घन्टामा यसको विषयमा धेरै कुरा भइरहेको छ। तर, हामी फेरि एकपटक नेपाल क्रिकेट टिमले हिजो देखाएको स्पोर्ट्सम्यानसिपको कदर गर्न चाहन्छौं। धन्यवाद र आगामी विश्वकप छनोटका लागि शुभकामना,’ ट्विटमा लेखिएको छ।
सोमबार ओमानको अल अमेरतमा पहिलो इनिङ्ग्समा नेपालले आयरल्यान्डका ब्याट्सम्यानलाई रनआउट नगरेपछि क्रिकेट आयरल्यान्डले धन्यवाद दिएको हो।
१९ औं ओभरको दोस्रो बलमा नेपालका कमलसिंह ऐरीले बलिङ गरिरहेका थिए। सो बलमा रन लिने क्रममा ननस्ट्राइकमा रहेका ब्याट्सम्यान एन्डी म्याकब्राइन ऐरीसँग ठोक्किन पुगे।
त्यतिबेलासम्म नेपालका विकेटकिपर आसिफ शेखको हातमा बल पुगिसकेको थियो। उनले चाहेको भए म्याकब्राइनलाई आउट गर्न सक्थे। तर आउट गरेनन्। हातमा आएको बललाई भुइँमा झारिदिए।
यो दृष्य लगत्तै कमेन्टेटरले आसिफको खुलेरै प्रशंसा गरेका थिए। कमेन्टेटरले यो दृष्यलाई वर्षको आइसिसी स्पिरिट अफ क्रिके अवार्ड दिनु पर्ने समेत बताएका थिए।
क्रिकेटमा यस्ता घटनाको खुलेरै प्रशंसा गर्ने गरिन्छ।
सन् १९८७ को विश्वकपमा वेस्ट इन्डिज र पाकिस्तानबीचको खेलको सधैं चर्चा हुन्छ। सो खेलको अन्तिम बलमा वेस्ट इन्डिजका बलर कोर्टनी वाल्सले मांकड आउट (ननस्ट्राइकमा रहेका ब्याट्सम्यान बलिङ गर्नुअघि नै अघि बढ्दा बलरले गर्ने आउट) गर्न अस्वीकार गरेका थिए।
अन्तिम बलमा वाल्सले आउट गरेका भए खेल वेस्ट इन्डिजले खेल जित्थ्यो र सेमिफाइनलमा स्थान पक्का गर्थ्यो। तर उनले पाकिस्तानका ननस्ट्राइकर ब्याट्सम्यानलाई चेतावनी मात्र दिए, रनआउट गरेनन्।
यो घटना आइसिसीले समेत बेलाबेलामा सम्झिने गरेको छ। २०२० अगस्टमा आइसिसीले सामाजिक सञ्जालमा वाल्सको अन्तर्वार्ता पोस्ट गरेको थियो। अन्तर्वार्तामा उक्त घटनाको विषयमा वाल्सले बोलेका थिए। उनले सो घटनालाई लिएर अहिले पनि मानिसहरूले प्रशंसा गर्दा खुसी लाग्ने बताएका थिए।
सोमबार आयरल्यान्डका ब्याट्सम्यानलाई रनआउट नगरेको विषयमा आसिफले ओमानमा रहेका नेपाली पत्रकारहरूसँग कुरा गरेका थिए।
‘ब्याट्सम्यान आफ्नो लाइनमा कुदिरहको थियो। बलर त्यसलाई क्रस गरेर गयो। ब्याट्सम्यानको गल्ती पनि थिएन। बलरलाई गएर ठोक्कियो। त्यसैले गर्दा हामीले आउट गरेनौं,’ हाम्रो खेलकुदसँगको कुराकानीमा आसिफले भनेका छन्, ‘त्यो क्लियरली देखिरहेको थियो। साइडबाट पनि नगर-नगर भनिरहेका थिए। त्यसैले हामीले रनआउट गरेनौं।’
खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै टेस्ट टिम आयरल्यान्डलाई १२७ रनमा समेटेको थियो। यद्यपी ब्याटिङ नचल्दा नेपालले आयरल्यान्डलाई हराएर इतिहास रच्ने मौका गुमायो। खेल हारे पनि नेपालले विश्व क्रिकेटको मन भने जित्यो। जसको अहिले विश्वभर चर्चा भइरहेको छ।
आइसिसीले पनि बुधबार सामाजिक सञ्जालमार्फत प्रशंसा गरेको छ।
ब्याट्सम्यानसँग ठोक्किदा रनआउट भएको अर्को चर्चित खेल हो, सन् १९९९ मा भारत र पाकिस्तानबीच भएको टेस्ट खेल।
एसियन टेस्ट च्याम्पियनसिपअन्तर्गत भएको उक्त खेल भारतको कोलकतामा भएको थियो। पहिलो इनिङ्ग्समा भारतविरूद्ध पाकिस्तानका तीव्र गतिका बलर शोएब अख्तरले उत्कृष्ट बलिङ गरेका थिए। उनले भारतको पहिलो विकेट लिने क्रममा भिभिएस लक्ष्मणलाई ५ रनमा बोल्ड गरेका थिए।
यस्तै राहुल द्रविडलाई २४ रनमा बोल्ड गर्दै व्यक्तिगत दोस्रो विकेट लिएका थिए। लगत्तै अर्को बलमा उनले सचिन तेन्दुलरलाई शून्यमा बोल्ड गरेका थिए।
२७९ रन पछ्याउँदै दोस्रो इनिङ्ग्स ब्याटिङ गरेको भारतका आसा सचिन रनआउट भएको घटना क्रिकेटप्रेमीले अहिले पनि बिर्सिएका छैनन्।
तीन रन लिने क्रममा सचिन ९ रनमा रनआउट भएका थिए। लाइन क्रस गर्ने क्रममा सचिन अख्तरसँग ठोक्किएका थिए। जसका कारण सचिनले रन पूरा गर्न नपाउँदै पाकिस्तानका नदीम खानले ड्राइरेक्स हिटमार्फत स्टम्प ढालेका थिए। लगत्तै पाकिस्तानका ब्याट्सम्यानले रनआउटको अपील गरेका थिए। भिडियोमा सचिन आउट भएको देखिएको थियो।
दुई ओभरपछि राहुल द्रविड आउट भएका थिए। त्यसपछि रंगशालामा उपस्थित दर्शक उत्तेजित भएका थिए। रंगशालामा दर्शकले बोलत फ्याँक्न थालेपछि खेल एक घन्टा रोकिएको थियो। फेरि सौरभ गांगुली आउट भएपछि दर्शक झनै क्रोधित बनेका थिए। त्यसपछि रंगशालामा उपस्थित ६५ हजार दर्शकलाई बाहिर निकाल्दै खेल संचालन गरिएको थियो। सो खेल पाकिस्तानले ४६ रनले जितेको थियो।