आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताको समूह ‘ए’ का खेल भोलिदेखि ओमानमा सुरू हुँदैछ।
समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।
समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।
समूह १ र २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।
नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।
नेपाली टिमको कप्तानी युवा लेगस्पिनर सन्दीप लामिछानेले गर्दैछन्। छनोटअघि सन्दीपले नेपालसँग प्रतिभाशाली र सन्तुलित खेलाडी रहेको बताएका छन्। साथै उनले नेपाल उत्कृष्ट दुई टिमका रूपमा विश्वकप छनोट हुने दाबी समेत गरेका छन्।
‘हामीले विश्वकपमा छनोट हुने राम्रो सम्भावना देखेका छौं। टी-२० फर्म्याटमा टेस्ट खेल्ने प्रतिद्वन्द्वी वा एसोसिएट टिम जोसँग खेले पनि खासै फरक पर्दैन। सिनियर र युवा खेलाडीको राम्रो मिश्रण भएकाले अरु टिमले नेपाललाई हराउन कठिन हुनेछ। एक कप्तानको रूपमा, मलाई लाग्छ कि मेरो काँधमा धेरै जिम्मेवारी छ, र म यसलाई यादगार बनाउन चाहन्छु। विश्वकप खेल्ने हाम्रो सपना हो। मलाई लाग्दैन कि युवा कप्तान हुनु कुनै समस्या हो, किनकि मलाई मेरा सिनियरहरूको पूर्ण समर्थन छ। सिनियरलाई सँगै पाएकोमा धन्य छु,’ सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग कुरा गर्दै भनेका छन्।
लामिछानेले प्रशिक्षक पुबुदु दासानायकेले जिम्मेवारी सम्हालेपछि टिमसँग राम्रो बन्धन बनाएको बताए ‘उहाँको नेतृत्वमा खेलाडीहरूले धेरै फाइदा उठाएका छन्। हामी क्वालिफायरका लागि तयार छौँ र खेलाडीहरू राष्ट्रको प्रतिनिधित्वन गर्न पाउँदा गर्व महसुस गरिरहेका छन्। सन् २०१४ पछि पहिलो पटक छनोट भएर इतिहास रच्न तयार छौं।'
नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाउने लक्ष्य लिँदा क्यानडाबाट कडा टक्करको सामना गर्ने अपेक्षा गरिएको छ ।
नेपालको खेल
नेपाल भर्सेस ओमान - ओमान एकेडेमी १- फागुन ६
नेपाल भर्सेस फिलिपिन्स - ओमान एकेडेमी २- फागुन ७
नेपाल भर्सेस क्यानडा - ओमान एकेडेमी १ – फागुन ९
सेमिफाइनल १ र २ – ओमान एकेडेमी २-१ - फागुन १०
फाइनल - ओमान एकेडेमी १ - फागुन १२
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, मोमहद आरिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेशबहादुर बम, सागर ढकाल, गुल्शनकुमार झा
वैकल्पिक खेलाडी
कुशल मल्ल, साहब अलाम, प्रदीप ऐरी
टिम अफिसियल्स
पुबुदु दसानायके- प्रमुख प्रशिक्षक
धम्मीका प्रसाद- कन्सल्ट्यान्ट बलिङ प्रशिक्षक
विक्रम न्यौपाने- फिजियो
रमन सिवाकोटी – विश्लेषक
सुमनराज कार्की - व्यवस्थापक