आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत नेपालको समूहमा रहेको क्यानडाले सानदार जित हात पारेको छ।
क्यानडाले फिलिपिन्सलाई ११८ रनले पराजित गरेको हो।पहिले ब्याटिङ गरेको क्यानडाले १ विकेटको क्षतिमा २१६ रन जोड्यो।
क्यानडाका लागि म्याथ्यु स्पूर्सले १०८ रन जोडे। उनले ६६ बलमा १४ चौका र ३ छक्का हिर्काए।
ओपनर रायन पठानले ७३ रन जोड्दा कप्तान नवनीत धलिवालले नटआउट २६ रन बनाए। पठानले ४४ बलमा ९ चौका र २ छक्का तथा धलिवालले ११ बलमा ३ छक्का प्रहार गरे।
२१७ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले २० ओभरमा ५ विकेटको क्षतिमा ९८ रन जोड्यो। उसका लागि ड्यानियल स्मिथले ३५ रन जोडे। बलिङमा क्यानडाका कलीम सना र सान बिन जफरले २-२ विकेट लिए।
जितसँगै क्यानडाले २ अंक जोडेको छ। नेपाल पनि २ अंक छ। नेपालले उत्कृष्ट जित निकाल्ने क्रममा शुक्रबार घरेलु टिम ओमानलाई ३९ रनले पराजित गर्यो।
अब नेपालले भोलि शनिबार फिलिपिन्ससँग खेल्नेछ।
समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।
समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।
समूह १ र २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।
नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।
नेपालको खेल
नेपाल भर्सेस ओमान - ओमान एकेडेमी १- फागुन ६
नेपाल भर्सेस फिलिपिन्स - ओमान एकेडेमी २- फागुन ७
नेपाल भर्सेस क्यानडा - ओमान एकेडेमी १ – फागुन ९
सेमिफाइनल १ र २ – ओमान एकेडेमी २-१ - फागुन १०
फाइनल - ओमान एकेडेमी १ - फागुन १२
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, मोमहद आरिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेशबहादुर बम, सागर ढकाल, गुल्शनकुमार झा