आइसिसी टी-२० विश्वकप छनोटमा युएई र आयरल्यान्ड सेमिफाइनलमा पुगेका छन्। ओमानमा जारी प्रतियोगिताको समूह-२ बाट विजेता भन्दै आयरल्यान्ड र उपविजेताको रुपमा युएई अन्तिम चारमा पुगेका हुन्।
समूह चरणको अन्तिम खेलमा आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो।
यता अघिल्ला दुई खेलमा जित निकालेको युएई अन्तिम खेलमा भने बहराइनसँग २ रनले पराजित भयो।
पराजित भए पनि युएई उपविजेता बनेर अन्तिम चारमा पुग्यो। जित निकाले पनि बहराइन रनरेटमा पछि पर्दै बाहिरियो। आयरल्यान्ड, युएई र बहराइनले समान ४-४ अंक जोड्दा रनरेटले समूह विजेता र उपविजेता तय भयो।
पहिले ब्याटिङ गरेको बहराइनले ५ विकेटको क्षतिमा १७२ रन जोडेको थियो। जसका कारण युएईलाई जित वा १५८ रन बनाउनु पर्ने बाध्यता थियो।
बहराइनले युएईलाई १५७ रनमा रोक्न सकेको भए सेमिफाइनल पुग्न सक्थ्यो। जसमा बहराइन १९ ओभरसम्म खेलमा थियो।
१९ ओभरमा युएईले ६ विकेटको क्षतिमा १४६ रन जोडेको थियो। अन्तिम ओभरमा युएईका लागि बृत्य अरविन्दले लगातार चौका हिर्काएका थिए। तेस्रो बलमा दुई रन लिएका उनले चौथो बलमा छक्का हिर्काउँदै युएईलाई सेमिफाइनल पुर्याए।
पाँचौ बलमा छक्का र छैटौं बलमा दुई रन लिएर अरविन्दले अन्तिम ओभरमा २४ रन जोडेका थिए। उनले नटआउट ८४ रन जोडे।
तर खेल भने बहारइनले जित्यो। जित निकाल्दा पनि रनरेटमा पछि परेपछि बहराइन भने बाहिरियो।
अब सेमिफाइनलमा आयरल्यान्डले समूह १ को उपविजेता र युएईले विजेतासँग सेमिफाइनलमा भिड्नेछन्। सेमिफाइनलमा जित हात पार्ने टिम फाइनलमा पुग्नुका साथै विश्वकपमा छनोट हुनेछन्।
समूह १ मा नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको क्यानडा र तेस्रो स्थानको ओमानको समान २-२ अंक छ। आज नेपालले क्यानडा र ओमानले फिलिपिन्ससँग खेल्दैछन्। नेपालले जित हात पारे विजेता बन्नेछ। थोरै अन्तरको हारले पनि नेपाल अन्तिम चारमा पुग्ने सम्भावना हुनेछ।