ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट हुन आज नेपालले युएईको सामना गर्दैछ।
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा दोस्रोपटक स्थान सुरक्षित गर्न आज नेपालले युएईलाई हराउनै पर्ने भएको छ। युएईलाई हराउँदा नेपाल सन् २०१४ पछि दोस्रोपटक टी–२० विश्वकपमा पुग्नेछ।
क्यानडामाथि आठ विकेटको सहज जित निकालेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल पुगेको हो भने युएईले अन्तिम खेलमा बहराईनसँग हारेपछि समूह ए को उपविजेता बनेको हो।
नेपाल र युएईबीचको खेल नेपाली समय अनसार अपरान्ह ३:४५ देखि सुरू हुनेछ।
नेपालले युएईलाई पाखा लगाएर फाइनल स्थान बनाउँदा विश्वकपमा पुग्नेछ । र, सन् २०१४ पछि टी–२० विश्वकप खेल्ने नेपालको सपना पूरा हुनेछ।
सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपाल छनोट भएको थियो। यदि युएईसँग पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना तुहिनेछ र युएई दोस्रो पटक विश्वकपमा पुग्नेछ।
ग्लोबल छनोटको फाइनलमा पुग्ने दुई टोली विश्वकपमा पुग्ने प्रावधान छ । नेपाल समूह बीमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । नेपालले सोमबार सन् २०११ को एकदिवसीय खेलेको क्यानडामाथि आठ विकेटको सानदार जित निकाल्दै समूह बीको विजेताका रूपमा अन्तिम चारमा स्थान पक्का गरेको हो । युएई समूह एको उपविजेताका रूपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
समूह बीमा शतप्रतिशत जित निकालेको नेपालले ६ अंक जोड्दै समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले हराएको थियो।
यता युएईले तीन खेलमा दुई जित र एक हारको सामना गरी चार अंक जोड्दै उपविजेता बनेको हो। युएईले आयरल्यान्डलाई १८ रन र जमर्नीलाई २४ रनले हराएको थियो। युएई बहराइनसँग दुई रनले पराजित भए पनि नेटरनरेटमा माथि नै रह्यो।
अर्को सेमिफाइनलमा समूह बीको उपविजेता र समूह एको विजेता आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
सोमबार लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको थियो। नेपालको जितमा कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए। यो प्रदर्शनको आधारमा सन्दीप प्लेयर अफ दि म्याच भए।
प्लेयर अफ दि म्याच भएपछि सन्दीपले सेमिफाइनलमा पुग्नका लागि गरेको मिहिनेत सफल भएको बताए।
‘हामीले सेमिफाइनल पुग्नका लागि मिहिनेत गरिरहेका थियौं। अब भोलि एउटा अर्को प्रयास बाँकी छ। भोलिको खेलमा जसले दबाब झेल्न सक्छ त्यहीँ विजेता बन्नेछ,’ सन्दीपले भने, ‘अहिलेसम्म शतप्रतिशत दिइरहेका छौं। भोलि पनि आफ्नो जिउ-ज्यान लगाएर नेपाललाई विश्वपकमा पुर्याउने आशा छ।’
उनले दुई सातादेखि ओमानमा खेलिरहेकाले भोलिको खेलमा राम्रो खेल्ने आशा व्यक्त गरे। उनले प्रतियोगितामा बलरले उत्कृष्ट प्रदर्शन गरेकाले आफूलाई सजिलो भएको बताए।
‘सबै जना लयमा हुँदा राम्रो लागेको छ। हामी भोलिको खेलमा पनि गुड इफोर्ट लगाउने छौं। यो प्रतियोगितामा मलाई एकदमै सजिलो भएको छ। किनभने बलरले राम्रो प्रदर्शन गरिरहेका छन्। चाडै विकेट लिन सफल भएका छौं,’ उनले भने।
पछिल्लो पटक बलियो टिमका रुपमा देखिएको युएईले ओमान नै घरेलु टिमसँगको सिरिज जितेको थियो भने त्यसपछि नेपालसँगको चारदेशीय सिरिज जितेको थियो।
नेपाली बलरलाई सेमिफाइनलमा युएईको ब्याटिङलाई कसरी कमजोर बनाउने भन्ने मुख्य चुनौती हुनेछ। चारदेशीय सिरिजमा नेपालसँग खेल्दा युएईले विस्फोटक ब्याटिङ गर्दै स्कोरबोर्डमा ३ विकेट गुमाएर १ सय ९२ रन जोडेको थियो।
त्यो खेलमा नेपालका आठ जना बलरले बलिङ गर्दा तीन जनाले मात्र विकेट लिएका थिए। जवाफी ब्याटिङमा नेपाल १ सय ६७ रनमा समेटिएको थियो।
आईसीसी टी–२० मा १२ औं स्थानमा रहेको युएई पनि आज नेपाललाई रोक्दै दोस्रो पटक विश्वकप खेल्ने अन्तिम प्रयास गरिरहेको छ।
प्रतियोगितामा युएईका प्रदर्शनलाई हेर्दा सेमिफाइनलमा नेपाललाई राम्रो चुनौती दिने देखिएको छ। यद्यपी नेपाली बलरलाई सामना गर्न युएईलाई सहज भने छैन।
युएईविरुद्ध नेपालको सम्भावित–११ : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहरा, सन्दीप लामिछाने र विवेकुमार यादव ।