आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।
युएईका लागि ओपरन मोहमद वासीमले अर्धशतक प्रहार गरे। उनले ७० रन जोडे। ४८ बलमा ४ चौका र ४ छक्का हिर्काएका उनलाई अभिनास बोहराले १७औं ओभरमा आरिफ शेखबाट क्याच गराएका थिए।
नेपालविरूद्ध युएईले पहिलो ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ५८ रन जोड्यो।
युएईका ओपनिङ ब्याट्सम्यान चिराग सुरीलाई जितेन्द्र मुखियाले ४ रनमा बोल्ड गरेका थिए। यद्यपी जितेन्द्रले चौथो ओभरमा उनले १८ रन खर्चिए। यो ओभरमा उनले दुई चौका र एक छक्का दिए।
यस्तै विकेटकिपर ब्याट्सम्यान बृत्य अरविन्दले ४६ रन जोडे। २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका थिए।
यस्तै जितेन्द्रले १८ ओभरमा बासिल हमिदलाई २ रन र जाफर फइदलाई ११ रनमा आउट गरेका थिए।
बलिङमा नेपालका जितेन्द्र मुखिया र अभिनास बोहराले ३-३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे।
यो खेलको विजेता आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।