आईसीसी टी-२० वरीयतामा नेपाल दुई स्थान खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल दुई स्थान खस्किएर १५औं स्थानमा पुगेको छ। यसअघि नेपाल १३औं स्थानमा थियो।
ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग पराजित भएको नेपाल वरीयतामा समेत पछि परेको हो।
ओमान भ्रमणमा जानुअघि १२ औं स्थानमा रहेको नेपाल पछिल्लो दुई सातामा तीन स्थान तल खस्किएको हो।
नेपालले ओमानमा चार देश सम्मिलित टी-२० सिरिजमा एक जित र दुई हार खेपेको थियो। यस्तै विश्वकप छनोटमा तीन खेलमा जित निकाले पनि निर्णायक खेलमा पराजित भएपछि वरीयता तल झरेको हो।
अहिले वरीयतामा नेपालअघि आयरल्यान्ड १४औँ, स्कटल्यान्ड १३औँ, यूएई १२औँ, जिम्बावे ११औँ, बंगलादेश १०औँ, श्रीलंका नवौँ, अफगानिस्तान आठौँ र वेस्टइन्डिज सातौँ स्थानमा छन्।
वरीयतामा नेपालपछि नामिबिया १६औँ नेदरल्यान्ड्स १७ औँ, ओमान १८औँ, पपुवा न्युगिनी १९औँ र सिंगापुर २०औँ स्थानमा छन्।
भारत शीर्षस्थानमा रहँदा इङ्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौँ र अष्ट्रेलिया छैठौं स्थानमा छन्।
विश्वकप छनोटको सेमिफाइनलमा यूएईसँग हारेको नेपालले अब तेस्रो स्थानका लागि बिहीबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
युएई र आयरल्यान्ड विश्वकपमा छनोट भएका छन्।