कैलालीको गेटास्थित विद्या भूषण विद्यालय धनगढी मेयर लिटिल फ्लावर प्रिमियर लिग–६ को सेमिफाइनलमा प्रवेश गरेको छ । विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
विद्या भूषणले स्टेपिङ स्टोनलाई ८७ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको विद्या भूषणले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनायो । एक सय ८७ रनको विजयी लक्ष पछ्याएको स्टेपिङ स्टोनले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । स्टेपिङका लागि दिनेश ओडले ३१, कप्तान अभिषेक कुँवरले २१, विशाल विष्टले १२ र वीरेन्द्र चन्दले १० रन बनाए । बलिङतर्फ विद्या भूषणका वीरेन्द्र नाथले चार, रोशन थापाले दुई तथा अर्जुन साउद, नरेन साउद, प्रवेश बुढ्थापा र वीरेन्द्र बमले एक÷एक विकेट लिए ।
यसअघि विद्या भूषणका लागि अर्जुन साउदले ३८ बलमा आठ छक्का र सात चौकाको मद्दतमा ८९ रन बनाए । यस्तै वीरेन्द्र नाथले ५४ र प्रदीप चन्दले १४ रन बनाए । बलिङतर्फ स्टेपिङका कप्तान अभिषेक कुँवरले चार र आयुब चन्दले एक विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ वीरेन्द्र नाथ घोषित भए ।
प्रतियोगिताको अर्को खेलमा लिटल फ्लावर स्कुल विजयी भएको छ । उसले कैलालीको लम्कीस्थित गुरुकुल स्कुललाई आठ विकेटले हराएको हो । टस जितेर ब्याटिङ गरेको गुरुकुलले १७.५ ओभरमा सबै विकेट गुमाएर ८५ रन बनायो । छयासी रनको लक्ष लिटल फ्लावरले ५.२ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । लिटल फ्लावरका लागि विपिन रावलले अर्धसतकीय पारी खेले । उनले १६ बलमा पाँच चौका र चार छक्कासहित अविजित ५० रन बनाए । यस्तै सुवास ऐरले २० र प्रकाश जैसीले १० रन बनाए ।
यसअघि गुरुकुलका लागि कृश शाहीले २२ र कुशल न्यौपानेले १० रन बनाए । बलिङतर्फ लिटल फ्लावरका रुपेश थापाले पाँच, सचिन भट्टले तीन विकेट र सार्थक बमले एक विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ रुपेश थापा घोषित भए । बुधबार शारदा सरस्वती दोधारा र सैनिक आवासीय महाविद्यालय तेघरी तथा सत्यवती एकेडेमी अत्तरिया र स्टेपिङ स्टोनबीच खेल हुने आयोजकले जनाएको छ ।
–––