आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ।
अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रन जोड्यो।
सेमिफाइनलमा पराजित भएका दुवै टिम विश्वकपमा पुग्न असफल भएका थिए।
नेपालले दोस्रो ओभरदेखि नै ओमानको विकेट लिन सुरु गरेको थियो। १० ओभरसम्ममा ओमानले ४ विकेट गुमाउँदा ३१ रन मात्र जोडेको थियो।
ओमानका ओपनिङ ब्याट्सम्यान जतिन्दर सिंह २ रनमा रनआउट हुँदा काश्यप प्रजापति ५ रनमा आउट भए।
यस्तै सोइब खान ३ रन र मोहमद नदीम १ रनमा पेभिलियन फर्के। कप्तान जीसन मक्सूदले २१ रन जोडेका थिए भने आयन खानले १६ रन बटुले।
सन्दीप गोउड १ रन र नेस्टर धम्माले ३ रन भन्दा बढी जोड्न सकेनन्।
सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा पर्नुअघि नीशम खुसीले १५ रन जोडे भने कालीमुल्लाहले नटआउट १४ रन जोडे।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले चार ओभरमा १३ रन खर्चिए।
कमलसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा र सागर ढकालले १-१ विकेट लिए।