ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।
सोमबार भएको फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफले उपाधि जितेको हो।
सुदूपश्चिमले दिएको ११४ रनको लक्ष्य एपिएफले १५.५ ओभरमा दुई विकेट गुमाएर पार गर्यो।
एपिएफका लागि ओपनिङ ब्याटरद्वय ज्योति पाण्डेले ४३ रन र कप्तान सीता रानामगरले १९ रन जोडे। पाण्डेले ४४ बलमा ५ चौका हिर्काउँदा सीताले २२ बलमा ३ चौका प्रहार गरिन्।
इन्दू बर्माले नटआउट २९ रन र रोमा थापाले नटआउट ५ रन जोडे। बर्माले २४ बलमा २ चौका र १ छक्का प्रहार गरिन्।
बलिङमा सुदूपश्चिमका सम्झना खड्का र लक्ष्मी साउदले १-१ विकेट लिए।
त्यसअघि त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ११३ रन जोड्यो।
उसका लागि विन्दू रावालले ३७ रन र डोली भट्टले ३६ रन जोडे। बलिङमा एपिएफकी सुष्मा श्रेष्ठले २ विकेट लिइन्।
उपाधिसँगै एपिएफले नगद २ लाख रुपैयाँ हात पारेको छ। दोस्रो भएको सूदूपश्चिमले १ लाखमै चित्त बुझायो।
एपिएफकी विकेटकिपर ब्याटर ज्योति पाण्डेले प्लेयर अफ दि टुर्नामेन्ट हुँदै २५ हजार पाइन्। उनी उत्कृष्ट ब्याटर हुँदै थप १५ हजार रूपैयाँ प्राप्त गरिन्। सुदूरपश्चिमकी इश्वरी विष्ट १५ हजार रूपैयाँ पाइन्।