घरेलु टिम न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको दुई टेस्टको सिरिज बराबरीमा सकिएको छ। दोस्रो टेस्टमा दक्षिण अफ्रिका १९८ रनले विजयी भएसँगै सिरिज १-१ को बराबरीमा सकिएको हो।
क्राइस्टचर्चमा भएको टेस्टमा दक्षिण अफ्रिकाले दिएको ४२६ रन पछ्याएको न्युजिल्यान्ड दोस्रो इनिङ्ग्समा २२७ रनमै अलआउट भयो।
दोस्रो इनिङ्ग्समा न्युजिल्यान्डका लागि डेवन कनवेले ९२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडा, मार्को जनसन र केशव महाराजले ३-३ विकेट लिए।
त्यसअघि दक्षिण अफ्रिकाले दोस्रो इनिङ्ग्समा ३५४ रन जोडेको थियो। दक्षिण अफ्रिका लागि कायल भेरेनले नटआउट १३६ रन जोडे।
पहिलो इनिङ्ग्ग्समा दक्षिण अफ्रिकाले ३६४ रन जोड्दा न्युजिल्यान्ड २९३ रनमै अलआउट भएको थियो। पहिलो इनिङ्ग्समा दक्षिण अफ्रिकाका लागि सारेल इर्वीले १०८ रन जोडेका थिए भने न्युजिल्यान्डका लागि कोलिन डे ग्रान्डहोमले नटआउट १२० रन जोडेका थिए।
दुवै इनिङ्ग्समा गरी ८ विकेट लिएका रबाडा प्लेयर अफ दि म्याच भए।