पछिल्लो एक वर्षमा कुशल भुर्तेलले आफूलाई नेपाली टिमको निर्विकल्प ओपनिङ ब्याट्सम्यानको रूपमा उभ्याएका छन्।
गत अप्रिल १७ मा नेदरल्यान्ड्सविरूद्धको खेलबाट टी-२० मा डेब्यू गरेयता कुशलले आफ्नो क्षमता प्रमाणित गर्दै टी-२० ब्याटिङमा नेपालका हरेक कीर्तिमान पछ्याइरहेका छन्।
डेब्यू खेलमै अर्धशतक बनाएर कीर्तिमान बनाएका कुशल नेपालका लागि सर्वाधिक टी-२० अर्धशतक प्रहार गर्ने खेलाडी हुन्। कुशलले ११ टी-२० खेल खेल्दा ६ पटक ५० भन्दा बढी रन बनाएका छन्। जसमा एक शतक समावेश छ।
कुशलले आफूले खेलेका टी-२० खेलमध्ये पाँच खेलमा मात्र ५० भन्दा कम रन बनाएका छन्।
कुशलले यही महिना ओमानमा भएको टी-२० विश्वकप छनोटमा फिलिपिन्सविरूद्ध शतक प्रहार गरेका थिए। नेपालका लागि टी-२० मा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन्। कुशल भन्दाअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले टी-२० मा शतक प्रहार गरेका थिए।
भुर्तेल नेपालका लागि एकै सिरिजमा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन्।
गत वर्षमा मलेसिया र नेदरल्यान्ड्सविरूद्धको सिरिजमा ५ खेलमा २७८ रन बनाएका कुशलले यहि महिना ओमानमा भएको विश्वकप छनोटमा ५ खेलमा २०५ रन जोडेका थिए। यो सूचीको तेस्रो स्थानमा दीपेन्द्रसिंह ऐरी छन्। दीपेन्द्रले विश्वकप छनोटमा ५ खेलमा १५९ रन बनाए।
नेपालका लागि टी-२० मा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीमा भने कुशल चौथो स्थानमा छन्। उनले ११ खेलमै ४९८ रन जोडिसकेका छन्। शीर्ष स्थानमा रहेका पारस खड्काले ३३ खेलमा ७९९ रन, दोस्रो स्थानमा रहेका दीपेन्द्रले ३४ खेलमा ७७८ रन र तेस्रो स्थानमा रहेका ज्ञानेन्द्रले ७४८ रन बनाएका छन्।
टी-२० मा नेपालका लागि सर्वाधिक औषत पनि कुशलकै नाममा छ। कुशलको टी-२० मा औषत ७१.१४ छ। दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरीको ३३.८२ र तेस्रो स्थानका पारस खड्काको २७.५५ रहेको छ।
उच्च स्ट्राइक रेटमा भने कुशल तेस्रो स्थानमा छन्। शीर्ष स्थानका करण केसीको स्ट्राइक रेट १५२, दोस्रो स्थानका कुशल मल्लको १४५.२९ र तेस्रो स्थानका कुशल भुर्तेलको १३२.४४ रहेको छ।
झण्डै क्रिकेट छाडेका कुशलको राष्ट्रिय टिममा जबरजस्त 'इन्ट्री'
कुशलले तीन वर्षअघि नेपालको एकदिवसीय टिममा डेब्यू गरेका थिए। उनी सन् २०१९ मा बंगालदेशमा भएको एसिसी इमर्जिङ टिम्स कपका लागि राष्ट्रिय टिममा परेका थिए।
त्यतिबेला उनले भारतको यू-२३ टिमबिरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए। सो खेलमा उनले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गरेका थिए। ज्ञानेन्द्र शून्यमा आउट भए पनि उनले २८ रन जोडेका थिए।
त्यहीँ बेलादेखि उनले घरेलु प्रतियोगितामा पनि ओपनिङ गर्न थालेका थिए। जहाँ उनी सफल भए।
कुशलले सन् २०१२ देखि क्रिकेट खेल्न थालेका हुन्। बुबा दीपक भुर्तेलका अनुसार आठ कक्षा पढ्दा कुशलले स्कुल प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए।
'स्कुलस्तरीय प्रतियोगितामा उसले खेलेको मैले पनि हेरेको थिएँ। त्यसपछि उसले आफू क्रिकेटर बन्ने इच्छा देखाएपछि मैले सबै किसिमले सुविधा दिने कोसिस गरेँ' बुबा दीपकको भनाइ छ।
स्कुल क्रिकेट खेल्न थालेको एक वर्षपछि उनी नेपालको यु-१६ राष्ट्रिय टिममा परे। मलेसियामा आयोजना भएको यु-१६ एसिसी एलिट कप खेल्न मलेसिया गए। कतारविरुद्धको पहिलो खेलमा ३५ रन बनाए। मलेसियाविरुद्धको दोस्रो खेलको वार्मअपका दौरान उनी घाइते भए। बाउन्ड्रीमा अल्झिएर लाडेका उनको दाहिने हात भाँच्चियो। जसका कारण प्रतियोगिताका बाँकी खेल गुमाए।
सन् २०१६ मा उनले नेपाली यु-१९ टिमबाट विश्वकप खेले। बंगलादेशमा भएको यु-१९ विश्वकपमा उनको प्रदर्शन सोचे जस्तो हुन सकेन। त्यतिबेला उनी मध्यक्रममा ब्याटिङ गर्थे। त्यहाँ उनी फिट हुन सकेनन्।
बंगलादेशबाट फर्किएपछि उनी नेपाल पुलिस क्लबमा आबद्ध भए। पुलिस क्लबसँगै फ्रेञ्चाइज क्रिकेटका टिमबाट खेले।
तर उनको ब्याटिङ पोजिसन एकनासको हुन सकेन। कहिले ओपनिङमा त कहिले मध्यक्रमबाट ब्याटिङ पर्ने जिम्मेवारी पूरा गरे।
तर पनि उनले मिहिनेत गर्न भने कहिल्यै छाडेनन्। फ्रेञ्चाइज क्रिकेटका कतिपय टिममा सँगै खेलेका क्रिकेटर शरद भेषवाकार कुशललाई फिट खेलाडीको संज्ञा दिन्छन्।
'उनी एकदमै फिट र अनुशासित खेलाडी हुन्। हरेक दिन जिम जाने उनको बाँनी छ,' गत वर्ष नेपाल र नेदरल्यान्ड्सबीचको खेलको टेलिभिजन कमेन्ट्रीका क्रममा भेषवाकरले भनेका थिए,'उनी टिममा भिज्ने, हाँस्ने र साथीहरूसँग रमाइलो गरिरहन्छन्।'
यु-१९ टिमपछि राष्ट्रिय टिममा पर्न उनलाई निकै संघर्ष गर्नु पर्यो। तीन वर्षअघिको इमर्जिङ कपमा राष्ट्रिय टिममा पर्नुबाहेका अन्य बेला उनी अन्तिम टिममा पर्न असफल भइरहे।
कडा मिहिनेत र लगाव हुँदा पनि राष्ट्रिय टिममा पर्न असफल कहिलेकाँही निराश बने।
'राष्ट्रिय टिममा नपरेपछि क्रिकेट नै छाड्छु भनेर साथीहरूसँग कुरा गर्दो रहेछ,' उनका बुबा दीपकले सेतोपाटीसँग गत वर्ष भनेका थिए,'यो थाहा पाएपछि हिम्मत हार्नु हुन्न भनेर सम्झाएँ। जे कुरा पनि समय आएपछि प्राप्त हुन्छ भनेर बुझाएँ।'
सायद कुशलका लागि गत नै उत्तम समय थियो, जसका कारण उनले राष्ट्रिय टिममा जबरजस्त इन्ट्री गर्न सफल भए।