श्रीलंकाविरूद्धको पहिलो टेस्टमा घरेलु टिम भारतले सानदार जित हात पारेको छ।
मोहालीमा तेस्रो दिनमा नै जित निकाल्ने क्रममा भारतले इनिङ्ग्स र २२२ रनको जित निकाल्यो।
फलो अनमा परेको श्रीलंका दोस्रो इनिङ्ग्समा १७८ रनमा अलआउट भयो।
दोस्रो इनिङ्ग्समा श्रीलंकाका लागि निरोशन डिकवेलाले नटआउट ५१ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा भारतका रवीन्द्र जडेजाले ४ विकेट लिए। रविचन्द्रन आस्विनले पनि ४ विकेट नै लिए।
पहिलो इनिङ्ग्समा १७४ रनमै अलआउट भएपछि श्रीलंका फलोअनमा परेको हो। पहिलो इनिङ्ग्समा ४ सय रनले पछि परेपछि श्रीलंका फलोअनमा परेको थियो।
यसअघि भारतले ८ विकेटको क्षतिमा ५७४ रन जोडेर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो।
जवाफी ब्याटिङ गरेको श्रीलंकाका लागि पथुम निशंकाले सबैभन्दा बढी नटआउट ६१ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
पहिलो इनिङ्ग्समा श्रीलंकाको ब्याटिङ ध्वस्त पार्ने क्रममा भारतका रविन्द्र जडेजाले ५ विकेट लिए। उनले १३ ओभरमा ४ मेडन राख्दा ४१ रन दिए।
जसप्रित बुमराह र रविचन्द्रन आस्विनले २-२ विकेट लिए।
यसअघि पहिलो इनिङ्ग्समा भारतका लागि जडेजाले नटआउट १७५ रन जोडेका थिए।
रिशव पन्त ९६ रनमा आउट हुँदा आस्विनले ६१ रनको योगदान दिएका थिए।
बलिङमा श्रीलंकाका सुरंगा लम्कल, विश्व फर्नान्डो र लासिथ इम्बुल्डेनियाले २-२ विकेट लिए।
दुवै इनिङ्ग्समा गरी ९ विकेट लिएका र पहिलो इनिङ्ग्समा शतक प्रहार गरेका जडेजा प्लेयर अफ दि म्याच भए।