आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा ओमानविरूद्ध फराकिलो जित निकाल्दै नामिबिया चौथो स्थानमा उक्लिएको छ।
एकदिवसीय क्रिकेटमा ओमानमाथि नामिबियाले १ सय १० रनको कीर्तीमानी जित निकालेको हो।
नामिबियाले दिएको २२७ रनको लक्ष्य पछ्याएको ओमान ४२.१ ओभरमा सबै विकेट गुमाएर ११६ रनमा समेटियो। उसका लागि कप्तान खावर अलीले ४३, सन्दीप गौडले १७, मोहम्मद नदीमले १५ र कश्यप प्रजापतिले १२ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा जेजे स्मित, टांगेनी लुंगामेनी, डेभिड विसे र जान फ्रीलिंकले दुई-दुई विकेट लिए।
त्यसअघि, दुबईस्थित आईसीसी मैदान टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय २६ रन बनायो ।
उसका लागि कप्तान गेर्हार्ड इरास्मसले शतकीय पारी खेले। उनले १२० बलमा ९ चौका र ३ छक्कासहित अविजित १ सय २१ रन बनाए। एकदिवसीय क्रिकेटमा इरास्मसको यो पहिलो शतक हो।
त्यस्तै, बर्नार्ड स्कोलट्ज़ले ३०, स्टेफन बार्डले २६, जन निकोल लोफ्टी–इटनले २१ र माइकल भ्यान लिङ्गेनले १० रन बनाए।
ओमानका बिलाल खानले सर्वाधिक ४ विकेट लिए। त्यस्तै, कलीमुल्लाहले २, खावर अली र नेस्टर धम्बाले एक-एक विकेट हात पारे।
ओमानलाई हराएसँगै नामिबिया अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले युएईलाई पछि पारेको हो। नामिबियाले १० खेलमा ६ जित र ४ खेलमा हार बेहोरेको छ ।
शीर्ष स्थानको ओमानले २५ खेलबाट ३२ अंक जोडेको छ। उसले १५ खेलमा जित र ८ खेलमा हार बेहोरेको छ। नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हारको सामना गरेको छ। नेपाल ८ अंकका साथ तालिकाको छैठौं स्थानमा छ।
सात टिमले खेलिरहेको विश्वकप लिग–२ को शीर्ष ३ मा रहने टिमले २०२३ को एक दिवसीय विश्वकप छनोट खेल्न पाउनेछन्।