श्रीलंका नेभीलाई १११ रनले हराउँदै नेपालले श्रीलंका भ्रमणमा विजयी सुरुवात गरेको छ।
नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंका नेभी २८.५ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटियो।
उसको लागि एम मधुशंकाले सर्वाधिक ३९ रन बनाए। यस्तै एस सन्जेबाले १५ र मधुशनले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
श्रीलंकन टोलीलाई सस्तैमा रोक्न नेपालका लागि कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए। यस्तै बिक्रम सोब र ज्ञानेन्द्र मल्लले समान २-२ विकेट लिए।
करन केसी, कमल सिंह ऐरी र सागर ढकालले १-१ विकेट हात पारे।
यसअघि नाभी ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३७.१ ओभरमा सबै विकेट गुमाएर २१४ रन बनाएको थियो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रन बनाए। यस्तै आशिफ शेखले ३६ रन बनाउँदा विनोद भण्डारीले २२ तथा कुशल भुर्तेल, कमल सिंह ऐरी र करण केसीले समान १६-१६ रन बनाए।
रोहित पौडेलले १३ रन बनाउँदा सन्दीप लामिछाने र बिक्रम शोबले ११-११ रन बनाए।
श्रीलंका नेभीका लेग स्पिनर अरभिन्दा अकुरुगोडाले सर्वाधिक ४ विकेट लिए। ए. अवाद्तले ३ विकेट लिए।
श्रीलंका नेभी श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने क्लब हो।
नेपालले भोलि मंगलबार पनि श्रीलंका नेभीसँग दोस्रो अभ्यास खेल खेल्नेछ।
त्यसपछि मार्च १० तारिख ( बिहिबार ) श्रीलंका पुलिस तथा मार्च ११ तारिख ( शुक्रबार ) मिश्रित श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।
श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।