नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी ‘आईसीसी प्लेयर अफ द मन्थ’ को मनोनयनमा परेका छन्।
फेब्रुअरी महिनाका लागि उनी उत्कृष्ट तीन खेलाडीको मनोनयनमा परेका हुन्। दीपेन्द्रसँगै भारतका श्रेयस ऐय्यर र युएईका वृत्य अरविन्द छन्।
दीपेन्द्र र वृत्यले आईसीसी टी–२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। दीपेन्द्रले विश्वकप छनोटमा १ सय ५९ रन बनाउनकुा साथै ३ विकेट लिएका थिए।
त्यसअघि भएको चार देश सम्मिलित सिरिजमा उनले १४२ रन र ४ विकेट लिए सफल भएका थिए।
अय्यरले श्रीलंका र वेष्ट इन्डिजविरुद्धको सिरिजमा शानदार ब्याटिङ गरेका थिए।
यस्तै वृत्यले आइसिसी टी-२० छनोटको उपाधि युएईलाई जिताउने महत्वपूर्ण भूमिका निभाएका थिए। उनकै उत्कृष्ट प्रदर्शनमा युएई विश्वकपका लागि छनोट भएको हो।
यो अवार्डका लागि मनोनयनमा परेका खेलाडीलाई आईसीसीको वेब साइटमा गएर भोट गर्न सकिन्छ। दीपेन्द्रलाई भोट गर्न यहाँ क्लिक गर्नुस् ।
नेपालबाट यसअघि सन्दीप लामिछाने र कुशल भुर्तेल पनि ‘आईसीसी प्लेयर अफ द मन्थ’ को मनोनयनमा परिसकेका छन्। सन्दीपले अवार्ड जिते पनि कुशल भने मनोनयनमा मात्र सिमित भए।
वरीयतामा भुर्तेलको छलाङ
कुशल भुर्तेलले आइसिसी टी-२० वरीयतामा छलाङ मारेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको पछिल्लो वरियतामा नेपाली टिमका युवा ब्याटर कुशल भुर्तेल २९ औं स्थानमा उक्लिएका हुन्।
उनी नेपालको टी–२० क्रिकेट इतिहासमै वरीयतामा सबैभन्दा अगाडि आउने पहिलो ब्याटर हुन्।
ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीको ५१ औं स्थानमा छन्।
बलिङतर्फ कप्तान सन्दीप लामिछाने ३६ औं स्थानमा छन्। यस्तै अर्का नेपाली बलर अविनाश बोहरा ८१ औं स्थानमा उक्लिएका हुन् ।