झापाले विराटनगरमा भएको प्रथम ‘इक्युवालिटी कप महिला क्रिकेट २०२२’ प्रतियोगिताको उपाधि जितेको छ।
झापाले बुधबार भएको फाइनल खेलमा मोरङलाई १ सय २१ रनले पराजित गरी उपाधि जितेको हो।
वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस हारेर पहिलो ब्याटिङको गरेको झापाले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९५ रनको स्कोर बनाएको थियो।
झापाका लागि नेपाली राष्ट्रिय टोलीकी कप्तान रुबिना श्रेत्रीले ६५ रन बनाइन्। उनले ४९ बलमा १ छक्का र ११ चौका प्रहार गरिन्।
त्यस्तै, अप्सुरी बेगम ४० रनमा अविजित हुँदा निमा तामाङ २२ रनमा अविजित रहिन्। मोरङकी कप्तान अन्सु जैसवालले २ विकेट लिँदा काजल राजवंशीले १ विकट लिइन्।
१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षति ७४ रन बनायो।
मोरङकी टिका साहले २७ रन बनाउँदा सानु राजवंशीले २४ रन बनाइन्।
त्यस्तै, नविता श्रेष्ठ ५ रनमा अविजित हुँदा कप्तान अन्सु जैसवाल १ रनमा अविजित भइन्।
झापाकी एलिसा खडिया, निसा साह र लतिका राजवंशीले १-१ विकेट लिए।
फाइनल खेलको वुमन अफ फाइनल झापाकी कप्तान रुबिना क्षेत्री घोषित भइन्।
त्यस्तै, वुमन अफ द सिरिज झापाकी अप्सरी बेगम, उत्कृष्ट ब्याटर झापाकी काजल श्रेष्ठ र उत्कृष्ट बलर मोरङकी अन्सु जैसवाल घोषित भइन्।
उनीहरूलाई प्रदेश १ की सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फे, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह र फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठलेलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे।
फाल्गुन २१ गतदेखि सुरू भएको प्रतियोगितामा प्रदेश १ को झापा, मोरङ, सुनसरी गरी तीन जिल्ला र मधेस प्रदेशबाट सप्तरीसहित चार जिल्लाको सहभागिता थियो।