आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले घरेलु टोली युएईलाई ८ रनले हराएको छ।
युएई भ्रमणमा रहेको ओमानले घरेलु टोलीमाथि यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा १२ रनले हराएको थियो ।
बुधबार भएको खेलमा ओमानले दिएको २२२ रनको लक्ष्य पछ्याएको युएईले ४८.३ ओभरमा सबै विकेट गुमाएर २१३ रन मात्र बनाउन सक्यो।
उसका लागि ओपनिङ ब्याटर चिराग सुरीले अर्धतकीय पारी खेले। उनले ८७ बल खेल्दै ८ चौकाको मद्दतमा ६३ रन जोडे।
त्यस्तै, वृत्य अरविन्दले २९, बसिल हमीदले २५, रोहन मुस्तफाले अविजित २३, मोहम्मद वसीमले १९ र चुन्दगापोयल रिजवानले १५ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेपछि हार व्यहोर्न बाध्य भयो।
युएईलाई रोक्न ओमानका फैज बटले तीन विकेट लिए। यस्तै खावर अलीले दुई तथा कलीमुल्लाह, बिलाल खान र कप्तान जीशान मक्सूदले एक-एक विकेट हात पारे ।
त्यसअघि, दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेका ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय २१ रन बनायो। उसका लागि खावर अलीले अर्धशतकीय पारी खेले।
७८ बल खेलेका उनले ८ चौकाको मद्दतमा ६३ रन बनाए।
त्यस्तै, कश्यप प्रजापतिले ४४, अयान खानले ३१, सन्दीप गौडले अविजित २१, कप्तान जीशान मक्सूदले २०, शोएब खानले १२ र जतिन्द्रर सिंहले ११ रनको योगदान दिए।
बलिङमा जाहूर खानले चार र बसिल हमीदले दुई विकेट लिए ।
विश्वकप लिग–२ मा हालसम्म ओमान शीर्ष स्थानमा छ। उसले २६ खेल खेल्दा १६ मा जित र आठ खेलमा हार बेहोरेको छ। उसले दुई खेलमा भने अंक बाँडेको छ।
यस्तै युएई तालिकाको तेस्रो स्थानमा छ। उसले १३ खेलमध्ये ६ मा जित र पाँच खेलमा हारको सामना गरेको छ । युएईले पनि दुई खेलमा अंक बाँडेको छ।
सात टिमले प्रतिस्पर्धा गरिरहेको विश्वकप लिग–२ को अंक तालिकामा १२ खेल खेलेको स्कटल्याण्ड १६ अंकसहित दोस्रो स्थानमा छ भने १६ खेल खेलेर १४ अंक जोडेको युएसए चौथो स्थानमा छ।११ खेल खेल्दै १२ अंक जोडेको नामिबिया पाँचौ स्थानमा रहँदा नेपाल छैठौं स्थानमा छ । नेपालले हालसम्म ८ खेल मात्र खेल्न पाएको छ। जसमा टिमले चारमा जित र चार खेलमा हार बेहोरेको छ ।
नेपालले अब केही दिनमा विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दैछ। युएईमै हुने सिरिजमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) र घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सिरिज १५ मार्चदेखि सुरु हुनेछ।
विश्वकप लिग–२ को शीर्ष तीनमा रहने टोलीले २०२३ को विश्वकप छनोट खेल्न पाउने छन्। बाँकी चार टिमले भने प्लेअफ खेल्नुपर्नेछ। विश्वकप २०२३ भारतमा हुनेछ।