आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीबिरुद्धको एकदिवसीय सिरिजको तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिम अभ्यास पराजित भएको छ।
यसअघि तीन अभ्यास खेलमा लगातार जित निकालेको नेपाललाई शुक्रबार भएको खेलमा श्रीलंका कम्बाइन-११ ले ९२ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको श्रीलंका-११ ले ४८.२ ओभरमा अलआउट हुने क्रममा २३२ रन जोड्यो।
उसका लागि वीराकोडीले ४९ रन, ए फर्नान्डोले ५६ रन, एस कुमारास्वामीले ३० रन जोडे। उपुल थाराङ्गा ३ रनमा आउट हुँदा कप्तान थिसारा परेरा ८ रनमा आउट भए।
बलिङमा नेपालका सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए भने आरिफ शेख र सन्दीप लामिछानेले १-१ विकेट लिए।
२३३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.२ ओभरमा १४० रनमा अलआउट भयो। नेपालका लागि नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६ रन, कुशल मल्लले ३२ रन, रोहितकुमार पौडेलले २१ रन र आरिफ शेखले १३ रन बटुले।
बलिङमा श्रीलंकाका एस दक्षिणाले ३ विकेट लिए।
अब तीन दिने श्रीलंका बस्ने नेपाली टिम उतैबाट १४ मार्चमा युएई जानेछ।
युएईमा हुने त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ शारजाहमा प्रतिस्पर्धा गर्नेछ।
नेपालले सिरिजमा दुवै टिमसँग दुई दुई खेल गरी चार एकदिवसीय खेल खेल्नेछ।
लिग-२ मा नेपालले अहिलेसम्म दुई सिरिज खेलिसकेको छ। दुई वर्षअघि नेपालमा भएको सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।
यस्तै अर्को सिरिज ओमानमा भएको थियो। ओमानमा नेपालले घरेलु टिमसँगै अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।
लिग-२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। ८ अंक जोडेको नेपाल अंक तालिकामा छैटौं स्थानमा छ।
शीर्ष स्थानमा ओमान २६ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १२ खेलबाट १६ अंक जोडेको छ।
तेस्रो स्थानको युएईको १३ खेलबाट १४ अंक छ। १६ खेलबाट १४ अंक नै जोडेको अमेरिका चौथो स्थानान छ।
नामिबिया ११ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा छ।
नेपालभन्दा पछि रहेको पपुवा न्युगिनीले १२ खेल खेल्दा अंक जोड्न सकेको छैन।
त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च १६- शारजाह
नेपाल भर्सेस युएई - मार्च १८- दुबई
नेपाल भर्सेस युएई – मार्च २१- दुबई
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च २२- दुबई
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की।
टिम अफिसिल्यस
कैलश विष्ट - म्यानेजर, पुबुदु दसानायके (प्रमुख प्रशिक्षक), प्रकाश शर्मा (सहायक प्रशिक्षक), विक्रम न्यौपाने (फिजियो), रमन सिवाकोटी (विश्लेषक), राज शर्मा (ट्रेनर)