भारतको समशेर क्रिकेट क्बल कानपुर विराटनगरमा जारी इन्डो-नेपाल टि-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा सन्नी क्रिकेट क्बल कटियारलाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै कानपुर फाइनलमा पुगेको हो।
जितसँगै कानपुरले मंगलबार हुने फाइनल खेलमा पूर्वाञ्चल क्रिकेट क्बल विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ।
टस हारेर ब्याटिङको निम्तो पाएको कानपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रनको विशाल योगफल खडा गरेको थियो।
कानपुरका हर्षित सिंह र राहुल सिंहले अर्धशतक कटाए। हर्सितले २८ बलमा ७० रन बनाए। उनको ब्याटबाट ७ छक्का र ४ चौका निस्कियो। अलराउण्ड प्रदर्शन गरेका कानपुरका राहुल सिंहले अर्धशतक कटाउँदै २३ बलमा ५१ रन जोडे।
विस्फोटक ब्याटिङ गरेका अलराउण्ड खेलाडी राहुलले ५ छक्का र ४ चौका प्रहार गरेका थिए। आकाश गौरले २१ बलमा ३३ रन जोडे। उनको ब्याटबाट तीन छक्का निस्कियो।
सन्नी क्रिकेट क्बल कटियारका रबि कुमारले ३ विकेट लिए। सुशील कुमार, अजय यादव र अंश राजले समान १/१ विकेट लिए।
जवाफमा २ सय २३ रनको विशाल विजय लक्ष्य पछ्याएको सन्नी क्रिकेट क्बल कटियारले १४ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय ९ रनमा सिमित भयो। कटियारका खालिद आलमले १४ बलमा २२ र मयँक पन्नानीले २१ रन जोडे।
कानपुरका अलराउण्ड खेलाडी राहुल सिंहले ६ विकेट लिए। उत्कृष्ट खेल प्रदर्शन गरेका राहुल खेलको म्यान अफ म्याच पनि घोषित भए। कानपुरका अन्नत वासले २ र दिपान्सु सिंहले १ विकेट हात पारे।