युएई आईसीसी विश्वकप लिग–२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
एकदिवसीय सिरिज अन्तर्गत शनिबार नामिबियामाथि ४३ रनको जित निकाल्दै युएई तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।
घरेलु मैदानमा जारी ओमान र नामिबियाविरूद्ध सिरिज अन्तर्गत यूएईको नामिबियामाथि लगातार दोस्रो जित निकालेको हो। उसले पहिलो खेलमा नामिबियालाई ३ विकेटले हराएको थियो ।
शनिबार भएको खेलमा युएईले दिएको ३४९ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०५ रन बनायो। उसका लागि क्रेग विलियम्सले सर्वाधिक ७९ रन जोडे। यस्तै जेजे स्मिथले ४७ रन बनाउँदा जन फ्राइलिंकले ४२ रन जोडे। यस्तै रूबेन ट्रम्पलम्यानले २८, माइकल भ्यान लिङ्गेनले २७, कप्तान गेर्हार्ड इरास्मसले १६ रन बनाए।
युएईका अहमद राजाले सर्वाधिक तीन विकेट लिए। यस्तै काशिफ दाउत र जुनैद सिद्दिकीले समान दुई-दुई विकेट हात पारे। बसिल हमीद र जाहूर खानले एक-एक विकेट लिए।
त्यसअघि दुबईको आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३४८ रन बनायो।
उसका लागि वृत्त अरविन्द र चिराग सुरीले शतकीय पारी खेले। अरवीन्दले ७६ बलमा १४ चौका र दुई छक्कासहित अविजित ११५ रन बनाउँदा ११८ बल खेलेका सुरीले १०३ रन जोडे। यस क्रममा उनले १० चौका र एक छक्का प्रहार गरेका थिए।
युएईका लागि मोहम्मद वसीमले ७८ र काशिफ दाउतले अविजित ३० रनको योगदान दिएका थिए।
नामिबियाका जन फ्राइलिंक र टाङ्गेनी लुंगामेनीले एक-एक विकेट लिए।
यो जितसँगै युएई १४ खेलबाट १६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। ७ खेलमा जित निकालेको युएईले पाँच खेलमा हार बेहोरेको छ । यूएईले एक खेलमा बराबरी खेल्दा एक खेलमा वर्षाका कारण अंक बाँडेको छ।
पराजित नामिबिया १२ अंकसहित तालिकाको पाँचौं स्थानमा छ। उसले १३ म्याचमा सातमा हार र ६ खेलमा जित हासिल गरेको छ।
तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्याण्डको १२ खेलबाट १६ अंक छ। यस्तै शीर्ष स्थानमा रहेको ओमानले २७ खेल खेल्दै ३६ अंक जोडेको छ।
यूएईले केही दिनमा घरेलु मैदानमा नेपाल र पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध पनि त्रिकोणात्मक सिरिज खेल्नेछ । सिरिज १५ मार्चदेखि सुरु हुनेछ । अंक तालिकाको शीर्ष तीनमा रहने टोली २०२३ मा हुने वानडे विश्वकप छनोट खेल्न पाउने छन् । हाल नेपाल तालिकाको छैटौं स्थानमा छ । नेपालले अहिलेसम्म ८ म्याचमा चारमा जित र चार खेलमा हार बेहोरेको छ ।