आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिज आजबाट युएईमा सुरू भएको छ।
लिग-२ मा नेपालले आफ्नो तेस्रो सिरिज खेल्न लागेको हो। नौं सिरिजमध्ये दुई सिरिज खेल्दा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो अर्थात् छैटौं स्थानमा छ।
यसअघि नेपालले अमेरिका र ओमानविरूद्ध दुई सिरिज खेलिसकेको छ। दुवै सिरिजमा नेपालले दुई दुई खेलमा जित हात पारेको थियो भने दुई दुई खेलमा पराजित भएको थियो।
युएईमा सुरू सिरिजमा नेपालले दुवै टिमसँग दुई दुई गरी कुल चार एकदिवसीय खेल खेल्नेछ।
सिरिजमा चार मध्ये तीन खेलमा जित हात पारे नेपाल अंक तालिकामा दुई स्थान माथि उक्लनेछ। दुई खेलमा मात्र जित हात पारेको अवस्थामा भने नेपालको स्थान परिवर्तन हुनेछैन।
सबै खेलमा जित हात पारे नेपाललाई थप फाइदा पुग्नेछ, राम्रो रन रेट भएमा नेपालले स्कटल्यान्डलाई समेत पछि पार्न सक्नेछ।
अंक तालिकामा शीर्ष स्थानको ओमानले २८ खेलबाट ३६ अंक जोडेको छ। दोस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक र तेस्रो स्थानको युएईको १४ खेलबाट १६ अंक नै छ।
चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले ८ खेलबाट ८ अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १२ खेल खेल्दा अंक जोड्न सकेको छैन।
लिग-२ अन्तर्गत ७ सिरिजका २८ खेल खेल्न अझै बाँकी नेपालले सन् २०२३ पछि आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न सात टिम मध्ये शीर्ष तीनमा पर्नु पर्नेछ। शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्।
त्यसो नभए नेपालले प्लेअफको बाटोबाट आफ्नो एकदिवसीय मान्यता जोगाउन पर्ने हुन्छ। प्लेअफबाट पनि दुई टिमले विश्वकप छनोट खेल्न पाउनेछन्।
लिग-२ मा धेरै खेल खेल्न बाँकी रहे पनि युएईमा सुरु त्रिकोणात्मक सिरिज नेपालको यात्रामा महत्वपूर्ण सिरिज सावित बन्न सक्छ। सबै खेलमा जित हात पारे नेपालले शीर्ष स्थानको ओमानबाहेक अन्य टिम स्तरमा अंक जोड्नेछ। जसका कारण बाँकी सिरिजका लागि आत्मविश्वास बढ्नेछ।
सिरिज खेल्न नेपाली टिम हिजो सोमबार श्रीलंकाबाट युएई पुगेको बताइएको छ। नेपालले सिरिजको पहिलो खेलमा भोलि बुधबार पपुवा न्युगिनीसँग सारजाहमा प्रतिस्पर्धा गर्नेछ।
सिरिजका लागि नेपालले श्रीलंकामा तयारी गरेको थियो। श्रीलंकामा तयारी गर्दा नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेलेको थियो। जसमा श्रीलंकन नेभी र श्रीलंकन पुलिसविरूद्धका खेल जित्दा नेपाल श्रीलंकन ११ विरुद्ध भने पराजित भएको थियो।
त्यसअघि घरेलु मैदानमा तयारी गरेको नेपाली टिममा करण केसी, सोमपाल कामीसहित रोहित पौडेल र भीम सार्की फर्किएका छन्।
सिरिजका लागि नेपालको ओपनिङमा कुशल भुर्तेलको प्रदर्शन महत्वपूर्ण मानिएको छ। पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रसिंह ऐरी पनि नेपालको ब्याटिङको आसा हुन्। त्यसबाहेक अर्का ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लबाट एकनासको प्रदर्शनको अपेक्षा गरिएको छ। दुवैले पछिल्लो समय एकैस्तरको प्रदर्शन गर्न सकिरहेका छैनन्।
मध्यक्रममा दीपेन्द्रसँगै रोहितकुमार पौडेलबाट नेपाली टिम आसावादी छ। विनोद भण्डारी र भीम सार्की विकल्पमा रहनेछन्।
अलराउन्डरको भूमीका आरिफ शेख, पवन सर्राफ र विवेक यादव रहनेछन्।
टी-२० विश्वकप छनोटमा घाइते भएर टिम बाहिर रहेका तीव्र गतिका बलर करण केसीले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका थिए। करणसँगै तीव्र गतिको बलिङमा सोमपाल कामी, विक्रम शोव र कमलसिंह ऐरी रहनेछन्। चार मध्ये बढीमा तीन जनाले एक खेलमा मौका पाउन सक्छन्।
स्पिनरको रुपमा कप्तान सन्दीप लामिछाने र सागर ढकाल छन्। उनीहरूलाई अलराउन्डर दीपेन्द्र र पवनले साथ दिनेछन्।
त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत २ - शारजाह
नेपाल भर्सेस युएई - चैत ४- दुबई
नेपाल भर्सेस युएई – चैत ७ - दुबई
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत ८ - दुबई
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की।
टिम अफिसिल्यस
कैलश विष्ट - म्यानेजर, पुबुदु दसानायके (प्रमुख प्रशिक्षक), प्रकाश शर्मा (सहायक प्रशिक्षक), विक्रम न्यौपाने (फिजियो), रमन सिवाकोटी (विश्लेषक), राज शर्मा (ट्रेनर