आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनीविरूद्ध नेपालका रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन्।
पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा रोहितले अर्धशतक प्रहार गरेका हुन्। उनले ७१ बलमा ५० रन पूरा गरेका हुन्। त्यसक्रममा चार चौका हिर्काए।
अहिले नेपालका लागि रोहितसँगै आरिफ शेखले ब्याटिङ गरिरहेका छन्। आरिफले नटआउट ४० रन जोडेका छन्।
नेपालले ३४ ओभरमा ४ विकेटको क्षतिमा १३२ रन जोडेको छ। अब नेपालले १६ ओभरमा ७३ रन जोड्न पर्नेछ।
त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल १ रन, आसिफ शेख १६ रन, ज्ञानेन्द्र मल्ल ४ रन र दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट भएका थिए।
नेपालले १५ ओभरमा ४ विकेट जोड्दा ४२ रन मात्र बटुलेको थियो।
युएई, पपुवा न्युगिनी र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा २०४ रन जोड्यो।
शारजाहमा भएको खेलमा पपुवा न्युगिनीका लागि चर्ल्स अमिनीले सबैभन्दा बढी ५९ रन जोडे। सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले ८२ बलमा ७ चौका हिर्काए।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए। उनले १० ओभरमा ४८ रन दिए।
आरिफ शेख, कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक-एक विकेट लिए। नेपालले पपुवा न्युगिनीका दुई ब्याट्सम्यानलाई रनआउट गर्यो।
आरिफले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई २७ रनमा आउट गरे। अर्का ओपनर लेगा सिएकालाई सन्दीपले २५ रनमा बोल्ड गरे।
पपुवा न्युगिनीका कप्तान असद भालालाई ज्ञानेन्द्र मल्लले १९ रनमा आउट गरे। ज्ञानेन्द्रले कुशल भुर्तेलबाट क्याच गराएका थिए।
ज्ञानेन्द्रले एकदिवसीय खेलमा पहिलो विकेट लिएका हुन्। उनले एकदिवसीय खेलमा पहिलो पटक बलिङ गरेका हुन्।
ज्ञानेन्द्रले पपुवा न्युगिनीका हिरी हिरीलाई पनि रनआउटको सिकार बनाएका थिए। शून्यमा रनआउट गराउने क्रममा उनले उत्कृष्ट फिल्लिङ गर्दै विकेटकिपर विनोद भण्डारीबाट रनआउट गराए।
१२ बलमा २३ रन जोडेका नोर्मन भानुआलाई पनि दीपेन्द्रसिंह ऐरीले विनोदबाट रनआउट गराएका थिए।
सोमपालले चाड सोपर ३५ रनमा र एलेइ नाओलाई २ रनमा बोल्ड गरे।