मध्यक्रमका ब्याट्सम्यानद्वय आरिफ शेख र रोहितकुमार पौडेलले नेपालका लागि एकदिवसीय खेलमा कीर्तिमान साझेदारी गरेका छन्।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनीविरूद्धको खेलमा उनीहरूले पाँचौ विकेटका लागि १०२ रनको साझेदारी गरे।
नेपालले चौथो विकेट गुमाउँदा ४२ रन हुँदा मैदान छिरेका आरिफले रोहितसँग मिलेर २२.२ ओभर खेल्दै १०२ रनको साझेदारी गरेका हुन्।
रोहित ५८ रन र आरिफ ५३ रनमा आउट भए।
यो नेपालका लागि एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो साझेदारी हो। यस्तै नेपालले एकदिवसीय खेलमा कुनै पनि विकेटका लागि गरेको यो पहिलो शतकीय साझेदारी हो।
यसअघि नेपालका लागि एकदिवसीय खेलमा ठूलो साझेदारी ९५ रनको थियो। ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि ओमानविरूद्ध उक्त साझेदारी गरेका थिए।