कैलालीको धनगढीमा आजबाट मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै कर्णालीले विजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो।
९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो।
सुदूरपश्चिमका लागि पवित्रा धामीले अविजित १० रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन।
कर्णाली प्रदेशका लागि किरण कुँवर र तिर्सना विश्वकर्माले ६४ रनको सुरुवाती साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ डोहोर्याए।
किरणले व्यक्तिगत २५ र तिर्सनाले १२ रन बनाएर आउट भइन्। बलिङ तर्फ सुदूरपश्चिमका लागि सावित्री धामीले ३ र मनीषा चौधरीले १ विकेट लिइन।
नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।