आइसिसी क्रिकेट विश्वकप लिग-२अन्तर्गत युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ।
नेपालले ८ ओभरभित्र महत्वपूर्ण ४ विकेट गुमाउँदा दबाबमा परेको छ।
नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा ५ रनमा र पवन सर्राफ तेस्रो ओभरमा २ रनमा आउट भए। पवन आउट भएको लगत्तैको बलमा दीपेन्द्रसिंह ऐरी गोल्डेन डकआउट भए।
रोहित पौडेल ८औं ओभरको छैटौं बलमा ९ रनमा आउट भए।
अहिले ज्ञानेन्द्र मल्ल र आरिफ शेख ब्याटिङ गरिरहेका छन्।
बलिङमा युएईका कसिफ दाउद र जुनइद सिद्धिकीले २-२ विकेट लिएका छन्।
नेपालले १२ ओभरमा २९ रन जोड्दा ४ विकेट गुमाएको छ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा २०२ रन जोड्यो।
युएईका लागि रोहान मुस्ताफाले अर्धशतक प्रहार गरे। उनले ६० रन जोडे। सोमपाल कामीको बलमा आउट हुनुअघि मुस्ताफाले ७३ बलमा २ चौका र १ छक्का प्रहार गरे।
सोमपालले ४६ ओभरमा मुस्ताफासहित कसीफ दाउदलाई ३ रनमा आउट गरेका थिए।
त्यसअघि ओपनरद्वय चिराग सुरी र मोहमद वासीमले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए। वासीम ३३ रन र सुरी २६ रनमा आउट भएका थिए।
विकेटकिपर ब्याट्सम्यान बृत्य अरविन्दले २४ रन जोडे। उनलाई नेपालका आरिफ शेखले बोल्ड गरे।
सिपी रिजवानले ४ रन जोडे भने बसील हमीदले १७ रन बटुले। अलिसान शराफुले अन्तिम बलमा आउट हुनुअघि २१ रन जोडे।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा ३२ रन खर्चिए।
सोमपाल कामीले २ विकेट लिए। उनले १० ओभरमा ४४ रन खर्चिए। करण केसीले पनि २ विकेट लिए। उनले ९ ओभरमा ३६ रन खर्चिए। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिन सफल भए।
नेपाल, पपुवा न्युगिनी र युएईबीचको यो त्रिकोणात्मक सिरिजमा युएईले पछिल्ला तीन खेलमा दुई जित हात पारेको छ। नेपाल र पपुवा न्युगिनीले एक एक खेलमा जित हात पारेका छन्। नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई हराउँदा दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।
लिग-२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १७ खेलबाट २० अंक जोडेको छ। तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।
चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले १० खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १५ खेलबाट २ अंक जोडेको छ।
त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत २ – शारजाह- नेपाल २ विकेटले विजयी
नेपाल भर्सेस युएई - चैत ४- दुबई - नेपाल ४८ रनले पराजित
नेपाल भर्सेस युएई – चैत ७ - दुबई
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत ८ - दुबई