आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईसँग नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
सोमबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई घरेलु टिम युएईले ९९ रनले पराजित गर्यो।
नेपाल, पपुवा न्युगिनी र युएईबीचको यो त्रिकोणात्मक सिरिजको अघिल्लो खेलमा नेपालमाथि युएईले ४८ रनको जित निकालेको थियो।
सोमबार युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो।
नेपालले ८ ओभरभित्र महत्वपूर्ण ४ विकेट गुमाउँदा दबाबमा परेको थियो। नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा ५ रनमा र पवन सर्राफ तेस्रो ओभरमा २ रनमा आउट भए। पवन आउट भएको लगत्तैको बलमा दीपेन्द्रसिंह ऐरी गोल्डेन डकआउट भए।
रोहित पौडेल ८औं ओभरको छैटौं बलमा ९ रनमा आउट भएका थिए।
ज्ञानेन्द्र मल्लसँग ३३ रनको साझेदारी गरेका आरिफ शेख २१औं ओभरमा १५ रनमा आउट भएपछि नेपाल झनै दबाबमा परेको थियो।
ज्ञानेन्द्र मल्ल २४औं ओभरमा छैटौं विकेटको रूपमा आउट हुँदा नेपाल हारउन्मुख बनेको थियो। नेपालका लागि सर्वाधिक रन जोडेका ज्ञानेन्द्रले ६५ बलमा ३० रन जोडे।
विनोद भण्डारी १२ रनमा रनआउट हुँदा करण केसीले ४ रन मात्र जोड्न सके। सोमपाल कामीले १५ रन बनाएर आउट भए।
बलिङमा युएईका जुनइद सिद्धिकीले ४ विकेट लिए। कसिफ दाउद र अहमेद राजाले २-२ विकेट हात पारे।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा २०२ रन जोड्यो।
युएईका लागि रोहान मुस्ताफाले अर्धशतक प्रहार गरे। उनले ६० रन जोडे। सोमपाल कामीको बलमा आउट हुनुअघि मुस्ताफाले ७३ बलमा २ चौका र १ छक्का प्रहार गरे।
सोमपालले ४६ ओभरमा मुस्ताफासहित कसीफ दाउदलाई ३ रनमा आउट गरेका थिए।
त्यसअघि ओपनरद्वय चिराग सुरी र मोहमद वासीमले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए। वासीम ३३ रन र सुरी २६ रनमा आउट भएका थिए।
विकेटकिपर ब्याट्सम्यान बृत्य अरविन्दले २४ रन जोडे। उनलाई नेपालका आरिफ शेखले बोल्ड गरे।
सिपी रिजवानले ४ रन जोडे भने बसील हमीदले १७ रन बटुले। अलिसान शराफुले अन्तिम बलमा आउट हुनुअघि २१ रन जोडे।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा ३२ रन खर्चिए।
सोमपाल कामीले २ विकेट लिए। उनले १० ओभरमा ४४ रन खर्चिए। करण केसीले पनि २ विकेट लिए। उनले ९ ओभरमा ३६ रन खर्चिए। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिन सफल भए।
त्रिकोणात्मक सिरिजमा युएईले चार मध्ये तीन खेलमा जित हात पार्यो। जससँगै युएईले सिरिज आफ्नो पक्षमा पार्न सफल भयो। नेपाल र पपुवा न्युगिनीले सुरुवाती तीन खेलमा एक एक खेलमा जित निकालेका छन्। अब भोलि सिरिजको अन्तिम खेलमा नेपाल र पपुवा न्युगिनीबीच खेल हुँदैछ।
लिग-२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १८ खेलबाट २२ अंक जोडेको छ। तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।
चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले ११ खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १५ खेलबाट २ अंक जोडेको छ।
त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत २ – शारजाह- नेपाल २ विकेटले विजयी
नेपाल भर्सेस युएई - चैत ४- दुबई - नेपाल ४८ रनले पराजित
नेपाल भर्सेस युएई – चैत ७ - दुबई - नेपाल ९९ रनले पराजित
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत ८ - दुबई