आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजको सुरूवाती तीन खेलमा नेपालले खराब ब्याटिङ गरेको छ।
पपुवा न्युगिनीविरूद्ध पहिलो खेलमा ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको नेपालले युएईविरूद्धका पछिल्ला दुई खेलमा भने ब्याटिङका लागि संघर्ष गर्न पर्यो।
युएईविरुद्ध शुक्रबार भएको पहिलो खेलमा १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट हुन पुगेको थियो।
सोमबारको दोस्रो खेलमा त झन् नेपाली ब्याट्सम्यान युएईका बलरसामू निरिह सावित भए। २०३ रनको लक्ष्य पछ्याएको नेपाल सोमबार पनि ३५.१ ओभरमै अलआउट हुन पुग्यो। यसक्रममा नेपालले केवल १०३ रनमा मात्र जोड्न सक्यो।
नेपाल पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भयो।
सोमबार जोडेको यो स्कोर एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालको अहिलेसम्मकै कम स्कोर हो। जसका कारण नेपालले रनको आधारमा अहिलेसम्मकै ठूलो हार समेत बेहोर्नु पर्यो।
यसअघि नेपालको एकदिवसीय खेलमा कम स्कोर ११३ रन थियो। सन् २०१९ जनावरीमा युएईविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा ११३ रनमा अलआउट हुन पुगेको थियो। सो खेलमा युएई ३ विकेटले विजयी भएको थियो।
एकदिवसीय खेलमा कम स्कोर बनाउँदा नेपालका दुवै ओपरन दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
कुशल भुर्तेल दोस्रो ओभरमा ५ रनमा आउट भए। अर्को ओभरमा आसिफ शेखको स्थानमा ओपनिङको मौका पाएका पवन सर्राफ २ रनमै आउट भए। लगत्तै दीपेन्द्रसिंह ऐरी गोल्डेन डकको सिकार बनेका थिए। पवन र दीपेन्द्र दुवैलाई युएईका तीव्र गतिका बलर जुनइद सिद्धिकीले आउट गरेका विकेटकिपर बृत्य अरविन्दबाट क्याच गराएका थिए।
नेपालका लागि आसा गरिएका मध्यक्रमका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ३० रन जोड्न सके। उनले ६५ बलमा २ चौका प्रहार गरे। ज्ञानेन्द्रले सेट भइसकेको अवस्थामा इनिङ्ग्ग उकास्ने अपेक्षा गरिए पनि उनी फेरि सामान्य स्कोरमा आउट हुन पुगे।
अघिल्ला दुई खेलमा राम्रो ब्याटिङ गरेका रोहित पौडेलले सोमबार भने सस्तैमा आउट हुन पुगे। उनी २१ बल खेल्दा ९ रन जोडेर आउट भएका थिए।
अघिल्लो खेलमा ड्रप गरिएका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी यो खेलमा पनि ब्याटिङमा चल्न सकेनन्। उनी १६ बलमा १२ रन बनाएर खेलिरहदा रनआउटको सिकार बनेका थिए। सोमपाल कामीसँग समन्वय बनाउन नसक्दा उनी पेभेलियन फर्कन बाध्य भए।
लगातार ब्याट्सम्यान आउट भएर दबाबमा पर्दा सोमपाल कामी १५ रन र करण केसी पनि ४ रनमा आउट भए।
नेपालले पछिल्ला तीन खेलमा जम्मा २ छक्का मात्र प्रहार गर्न सकेको छ। पपुवा न्युगिनीविरूद्धको पहिलो खेलमा करण केसीले २ छक्का हानेका थिए। नेपालले युएईविरूद्धको दुवै खेलमा छक्का हिर्काउन सकेन।
पछिल्लो समय युएईका बलरहरू उत्कृष्ट लयमा छन्। नेपाली ब्याट्सम्यानले आफ्नो क्षमता प्रमाणित गर्न युएईका बलरविरूद्ध कलात्मक सर्ट प्रहार चुके। दुवै खेलमा नेपाली ब्याट्सम्यान निकै दबाबमा देखिए।
पछिल्ला तीन खेलको आधारमा नेपालका सुरुवाती पाँच ब्याट्सम्यान मध्ये एक ब्याट्सम्यानले मात्र एक खेलमा ३० रन कटाएका छन्। तीन खेल मध्ये दुई खेलमा नेपालका एक ओपनर दोहोरो अंकमा रन जोड्न असफल भएका छन्। एक खेलमा दुवै ओपनर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए।
तीन खेलमा एक ब्याट्सम्यानले मात्र अर्धशतक बनाउनु नेपाली ब्याटिङका लागि सुखद् खबर होइन। पपुवा न्युगिनीविरूद्ध रोहित पौडेलले सर्वाधिक ६० रन जोडेका थिए।
पछिल्ला नेपालले गुमाएको २० विकेट मध्ये १३ विकेट १० रनभन्दा कम हुनु अर्को खराब पक्ष हो।