आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।
दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो।
नेपालले टिममा दुई परिवर्तन गरेको छ। आसिफ शेख टिममा फर्कदा भीम सार्कीले पनि मौका पाएका छन्। अघिल्लो खेल खेलेका ज्ञानेन्द्र मल्ल र विक्रम शोव टिममा छैनन्।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, भीमा सार्की, पवन सर्राफ
युएईमा भइरहेको सिरिजको सुरूवाती तीनमध्ये नेपालले एक खेलमा जित र दुई खेलमा हार बेहोर्यो। नेपालले पहिलो खेलमा पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको थियो।
त्यसपछिका दुवै खेलमा नेपाललाई युएईले पराजित गर्यो। खराब ब्याटिङ गर्दा नेपाल पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो।
यो पनि : एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको इतिहासकै खराब ब्याटिङ
लिग-२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १८ खेलबाट २२ अंक जोडेको छ। तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।
चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले ११ खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १५ खेलबाट २ अंक जोडेको छ।
त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत २ – शारजाह- नेपाल २ विकेटले विजयी
नेपाल भर्सेस युएई - चैत ४- दुबई - नेपाल ४८ रनले पराजित
नेपाल भर्सेस युएई – चैत ७ - दुबई- नेपाल ९९ रनले पराजित
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत ८ - दुबई