नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहाक सचिव प्रशान्त मल्लले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई आराम दिइएको बताएका छन्।
आगामी चैत ११ देखि सुरु हुने एकदिवसीय र टी-२० सिरिजका लागि घोषणा गरिएको टिममा दुवै जना परेका छैनन्।
‘हामीले ज्ञानेन्द्र मल्ल र विनोद भन्डारीलाई आराम दिएका हौं। पुराना खेलाडीलाई रिफ्रेस होस् भनेर हामीले नयाँ खेलाडीलाई टिममा स्थान दिएका छौं,’ मल्लले सेतोपाटीसँग भने, 'कतिपय खेलाडीहरू एक टिममा मात्र परेका छन्। क्यानको नीति युवा खेलाडीलाई मौका दिएर आगामी प्रतियोगिताका तयार पार्नु हो।’
युएईमा आज सकिएको नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिजमा ज्ञानेन्द्र र विनोदले अपेक्षाकृत ब्याटिङ गर्न सकेका थिएनन्।
नेपालले घरेलु मैदानमा खेल्ने एकदिवसीय र टी-२० सिरिजको लागि छुट्टा-छुट्टै राष्ट्रिय टिम घोषणा गरिएको छ।
एकदिवसीय टिममा देव खनाल र टी-२० टिममा अदिल अन्सारीले पहिलो पटक स्थान पाएका छन्।
नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। लगत्तै नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी-२० सिरिज हुनेछ। दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।
पपुवा न्युगिनीसँग मार्च २५ र २६ मा (चैत ११ र १२ गते) एकदिवसीय खेल हुनेछ।
यस्तै टी-२० सिरिज २८ मार्चमा सुरु भएर ४ अप्रिलमा सकिनेछ।
टी-२० र एकदिवसीय सिरिज
नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज - चैत ११ र १२ गते
नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज - चैत १४ देखि २१
नेपाली टिम