नेपाल क्रिकेट संघ (क्यान) ले चैत ११ देखि सुरु हुने एकदिवसीय र टी-२० सिरिजका लागि घोषणा गरेको छुट्टा-छुट्टै टिममा सात खेलाडीले दुवै टिममा स्थान बनाएका छन्।
कप्तान सन्दीप लामिछानेसहित आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र कमलसिंह ऐरी गरी सात खेलाडी दुवै टिममा छन्।
अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की एकदिवसीय टिममा मात्र सामवेश छन्।
यस्तै आसिफ शेख, करण केसी, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र अदील अन्सारी टी-२० टिममा मात्र छन्।
ब्याट्सम्यान देव खनालले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन्। उनी नेपालको यू-१९ टिमका कप्तान समेत हुन्।
यस्तै अलराउन्डर आदिल अन्सारी पनि यू-१९ टिमका खेलाडी हुन्। आदिलले यू-१९ राष्ट्रिय क्रिकेटमा प्रदेश २ बाट खेलेका थिए।
पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याट्सम्यान विनोद भन्डारी भने टिममा छैनन्। नेपाल क्रिकेट संघ (क्यान) का कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार दुवैलाई सिरिजका लागि आराम दिइएको हो।
नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। लगत्तै नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी-२० सिरिज हुनेछ। दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।
पपुवा न्युगिनीसँग मार्च २५ र २६ मा (चैत ११ र १२ गते) एकदिवसीय खेल हुनेछ।
यस्तै टी-२० सिरिज २८ मार्चमा सुरु भएर ४ अप्रिलमा सकिनेछ।
टी-२० र एकदिवसीय सिरिज
नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज - चैत ११ र १२ गते
नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज - चैत १४ देखि २१ सम्म
एकदिवसीय टिम
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा, भीम सार्की।
टी-२० टिम
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल, आदिल अन्सारी