आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी र युएईविरूद्धको त्रिकोणात्मक सिरिजमा नेपालले दुई जित निकाल्दा दुई खेल हार्यो।
पपुवा न्युगिनीविरूद्धका दुवै खेल जितेको नेपाल घरेलु टिम युएईविरूद्धका दुवै खेलमा पराजित भयो। युएईविरूद्ध नेपाल खराब ब्याटिङको सिकार बनेको थियो।
पपुवा न्युगिनीविरूद्ध हात पारेको जितसँगै नेपालले लिग-२ अंक तालिकामा १२ खेलबाट १२ नै अंक जोडेको छ।
मंगलबार पपुवा न्युगिनीविरूद्ध ७ विकेटको जित हात पारेपछि नेपालका कप्तानले सन्दीप लामिछानले ब्याट्सम्यानको प्रशंसा गरेका छन् भने केही स्थानमा सुधार गर्न पर्ने बताएका छन्।
‘अझै पनि सुधार गर्न धेरै ठाउँ छ,’ उनले भने, ‘हरेक दिन हाम्रा लागि नयाँ अवसर हो। हामीले खेल जिते पनि अब निश्चित योजनाहरू बनाउनेछौं। केही दिनमा फेरि पपुवा न्युगिनीसँग काठमाडौंमा विरुद्धको अर्को खेल हुँदैछ।’
उनले प्रशिक्षक पुबुदु दसानायाकेसँग छलफल गरेर नयाँ तरिकाबाट जानेबारे सोच्ने समेत बताए।
‘प्रशिक्षक र म सँगै बस्नेछौं र परिस्थितिहरूको बारेमा थप छलफल गर्नेछौं,’ उनले भने।
अन्तिम खेलमा जित हात पार्दा खुसी देखिएका लामिछानेले ब्याट्सम्यानले गरेको प्रदर्शनको बारेमा अघि भने ‘सुरुवात र अन्त्य हामीले जसरी गर्यौं, ब्याट्सम्यानहरू धेरै प्रशंसाका हकदार छन्। आरिफलाई आज नम्बर ३ मा नयाँ भूमिका दिइएको थियो। यो उनको लागि नयाँ पोजिसन थियो र आज उनले जसरी ब्याटिङ गरेर फिनिसिङ गरे, त्यो देखेर साँच्चै राम्रो लाग्यो। मध्य ओभरहरूमा रोहितले उनलाई मद्दत गर्ने तरिका साँच्चै राम्रो थियो।’