नेपाल क्रिकेट संघ (क्यान) ले चैत ११ देखि सुरू हुने एकदिवसीय र टी-२० सिरिजका लागि घोषणा गरेको राष्ट्रिय टिममा दुई खेलाडीले पहिलो पटक स्थान पाएका छन्।
एकदिवसीय टिममा ब्याट्सम्यान देव खनालले पहिलो पटक स्थान पाएका छन्। यस्तै टी-२० टिममा आदिल अन्सारी पहिलो पटक समावेश भएका छन्।
दुबै खेलाडी नेपालको यू-१९ राष्ट्रिय टिमका खेलाडी हुन्। घरेलु मैदानमा हुने सिरिजका लागि युवा खेलाडीलाई अनुभव दिने नीतिअनुसार क्यानले उनीहरूलाई मौका दिएको हो।
देव खनाल
देव खनाल नेपालको यू-१९ राष्ट्रिय टिममा कप्तान हुन्। गत डिसेम्बरमा युएईमा भएको यू-१९ एसिया कपमा उनले नेपाली टिमको नेतृत्व गरे। एसिया कपमा उनले तीन खेलमा कूल ५५ रन जोडेका थिए।
त्यसअघि उनले यू-१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल देखाए। बुटवलका खनालले आफ्नो कप्तानीमा लुम्बिनीलाई यू-१९ राष्ट्रिय प्रतियोगिताको च्याम्पियन बनाए। प्रतियोगितामा सर्वाधिक रन जोड्ने ब्याट्सम्यान बन्ने क्रममा उनले कूल ३३४ रन बनाए।
नेपाली क्रिकेटको आशा गरिएका ब्याट्सम्यानको रूपमा हेरिएका देव नेपाल आएको भने चार वर्ष मात्र भयो। त्यसअघि उनी परिवारसँगै भारतको नयाँ दिल्लीमा बस्थे। दिल्लीको क्रिकेट वातावरणमा हुर्किएका उनले १३ वर्षको उमेरदेखि एकेडेमीमा गएर क्रिकेट सिक्न थालेका थिए।
नयाँ दिल्लीको आरपी क्रिकेट एकेडेमीमा देव उत्कृष्ट खेलाडी खेलाडीको रूपमा रहँदै एकेडेमीको टिममा समेत परेका थिए। जसका कारण उनले एकेडेमीको टिमबाट उमेर समूहका प्रतियोगितामा खेल्न सफल भए।
एकेडेमीमा रणजी ट्रफी खेल्ने खेलाडी पनि आउने भएकाले आफ्नो क्रिकेटस्तर बढेको देवको भनाइ छ। कहिलेकाहि भारतको राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान रिशव पन्त पनि उनकै एकेडेमीमा आएर अभ्यास गर्थे।
भारतमा क्रिकेटको क्रिकेट वातावरणमा हुर्किएका देव सन् २०१७ मा नेपाल फर्किए। उनको परिवार बुटवलमा घर बनाएर स्थायी रूपमा बस्न थालेपछि देव त्यहाँ स्थानीय प्रतियोगिता खेल्न थाले।
दिल्लीमा बसे पनि उनलाई नेपाली क्रिकेटबारे भने थाहा थियो। समाचारमार्फत नेपाली क्रिकेट पछ्याउथे, आफ्ना आदर्श पारस खड्काको खेल हेर्थे। सन् २०१४ मा नेपालले टी-२० विश्वकप खेल्दा उनले नेपाली क्रिकेटबारे अझ धेरै जान्ने अवसर पाए।
बुटवलबाट क्रिकेट भविष्य खोजिरहेका देवले गत वर्ष प्रधानमन्त्री कपको छनोटमा प्रशिक्षकको ध्यान खिच्न सफल भए। जसका कारण लुम्बिनीले उनलाई सिनियर टिममा समावेश गर्यो।
प्रधानमन्त्री कपमा उनले आकर्षक सर्ट खेल्दै सबैको मन जिते। प्रधानमन्त्री कपमा उनले बागमतीविरूद्ध २६ रन, सूदूपश्चिमविरूद्ध ९ रन र नेपाल पुलिस क्लबविरूद्ध ४९ रन जोडेका थिए।
प्रधानमन्त्री कपमा गरेको प्रदर्शनले उनी राष्ट्रियस्तरमा चिनिन सफल भए। प्रधानमन्त्री कपकै प्रदर्शनले उनलाई एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम चितवन टाइगर्सले आबद्ध गर्यो। चितवनमा आबद्ध हुनुलाई उनले अवसरको रूपमा लिएका थिए।
आदिल अन्सारी
बारा सिम्रौनगढका अन्सारी गत मंसिरमा चर्चामा आएका खेलाडी हुन्। दायाँ हाते ब्याट्सम्यान अन्सारी आक्रामक ब्याटिङका कारण चर्चामा आएका थिए। उनी मध्यम गतिमा बलिङ समेत गर्छन्।
उनले यू-१९ राष्ट्रिय क्रिकेटअन्तर्गत सुदूरपश्चिमविरूद्ध ४३ बलमा अविजित ८७ रन बनाएका थिए।
जसका कारण मधेश प्रदेश (तत्कालिन प्रदेश २) ले २ विकेटको जित निकालेको थियो। उनले ७ चौका र ६ छक्का प्रहार गरेपछि सुदूपश्चिमका आर्जुन साउदले सोहि खेलमा बनाएको शतक छायाँमा परेको थियो।
त्यसअघि उनले यू-१९ को क्षेत्रीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। २३ बलमा ५० रन हानेपछि उनले प्रदेश टिमको ढोका खोलेका थिए।
राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेसँगै अन्सारी नेपालको यू-१९ राष्ट्रिय टिममा परे। युएईमा भएको यू-१९ एसिया कपमा तीन खेलमा ५७ रन जोड्दा ३ विकेट लिएका थिए। उनले प्रतियोगिता कुवेतविरूद्ध ४९ रन जोडेका थिए।
यू-१९ राष्ट्रिय टिममा परेसँगै उनी मधेशको सिनियर टिममा पनि पर्न सफल भए। मधेशको सिनियर टिमबाट प्रधानमन्त्री कप खेल्दा उनले एपिएफविरूद्ध ३५ रन जोडेका थिए।
राष्ट्रिय स्तरमा चर्चामा आउनुअघि अन्सारीले प्रदेश २ का स्थानीय प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए। क्षेत्रीय स्तरमा उत्कृष्ट प्रदर्शनसँगै उनलाई राष्ट्रिय क्रिकेटर अनिलकुमार साहले सहयोग गरे।
‘अनिल दाइको सहयोगले यहाँसम्म आइपुगेको हुँ,’ यू-१९ प्रतियोगितामा सूदूरपश्चिमविरूद्ध आक्रामक इनिङ खेलेपछि उनले भनेका थिए।
पछिल्लो समय उनी अरू चार जना युवा क्रिकेटरसँगै भारतको बेंग्लोरमा दुई साताको हाइ पर्फमेन्स क्याम्पमा सहभागी हुन गएका थिए।