पपुवा न्युगिनीले पहिलो एकदिवसीय खेलमा नेपाललाई २९३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा २९२ रन जोड्यो।
यो नेपालले एकदिवसीय खेलमा पाएको पाएको अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालविरूद्ध युएईले २५४ रन जोडेको थियो। नेपालले २५५ रनको लक्ष्य पार गरेको थियो।
आज यो लक्ष्य पार गरे नेपालले अहिलेसम्मकै उच्च लक्ष्य पार गर्नेछ।
पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले ७७ रनको योगदान गरे। सोमपाल कामीको बलमा बोल्ड हुनुअघि उनले १०३ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
यस्तै कप्तान असाद भालाले पनि अर्धशतक प्रहार गरे। उनले ५५ बलमा ११ चौकाको मद्दतमा ६० रन जोडे।
त्यसअघि ओपनर टोनी उराले ३८ रनको योगदान दिए। अर्का ओपनर हिरी हिरी ४ रनमा आउट भएका थिए।
सेसे बाउ शून्यमा आउट भए भने रिले हेकुरे ३१ रनमा पवन सर्राफको बलमा बोल्ड भए। यस्तै नोर्मान भानुआले ४७ रनको योगदान दिए। उनले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा नेपालका सोमपाल कामी, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। कप्तान सन्दीप लामिछाने र पवन सर्राफले १-१ विकेट हात पारे।
नेपालले पपुवा न्युगिनीविरुद्धको दोस्रो खेल शनिबार खेल्नेछ। त्यसपछि एक दिनको विश्रामपछि नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज हुनेछ।
टी-२० र एकदिवसीय सिरिज
नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज - चैत ११ र १२ गते
नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज - चैत १४ देखि २१ सम्म