रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर भएका छन्। नेपालका तर्फबाट सर्वाधिक एक दिवसीय रन बनाउने क्रममा रोहितले शुक्रबार पिएनजीविरूद्ध ३८ रन जोड्दै उनले ५०० रनको कोशेढुंगा पूरा गरेका हुन्।
घरेलु मैदान कीर्तिपुरमा भइरहेको पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध उनले असद भालाको स्पिनमा चौका प्रहार गर्दै ५०० रन पूरा गरेका हुन्।
उनले १६औं ओडीआईमा यो उपलब्धि हासिल गरेका हुन्। ओडीआईमा उनले ७०.९६ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको औषत ३५.५३ छ। उनको एकै ओडीआईमा उच्च रन ८६ हो। उनले १६ वटा ओडीआई खेल्दा एक पटक मात्र डकआउट भएका थिए। त्यसैगरी ६ पटक १० भन्दा कम रनमा आउट भएका छन्।
रोहितले खेलमा अर्धशतक प्रहार गरे। रोहित नेपालका लागि एकदिवसीय खेलमा सर्वाधिक अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन्। उनले शुक्रबार पपुवा न्युगिनीविरुद्ध अर्धशतक प्रहार गरे। योसँगै उनले नेपालका लागि एकदिवसीय खेलमा पाँचौ अर्धशतक प्रहार गरेका हुन्।
ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा चार अर्धशतक प्रहार गरेका छन्।मल्लले ओडीआईमा सर्वाधिक अर्धशतक सहित १९ खेलमा ४८० रन बनाएका छन्।
यस्तै १० ओडीआई मात्र खेलेका पारस खड्काले ३१५ रन बनाउँदै तेस्रो सर्वाधिक रन बनाएका छन्। उनलाई आरिफ शेखले पछ्याइरहेका छन्। उनी पारस खड्काको स्कोर बराबरी गर्न मात्र ३९ रन पछि छन्।