रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा पूर्व कप्तान पारस खड्काले एकै पारीमा बनाएको ११५ रनको कीर्तिमान आफ्नो नाममा राखेका हुन्।
उनले शुक्रबार राजधानीमा जारी पपुवा न्युगिनीविरूद्धको पहिलो ओडिआई खेलमा सतक प्रहार गर्दै पारसले बनाएको ११५ रनको कीर्तिमान तोडेका हुन्।
२ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ११९ रन बनाएर खेलिरहेका छन्।
उनले मात्र ९१ बलमा आफ्नो करिअरकै पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन्। रोहित १०० बलमा ७ चौका र ६ छक्कासहित ११९ रनमा अविजित छन्। रोहित नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि २०१९ मा पारस खड्काले युएईविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए।
रोहितले यसअघि ओडिआईमा गत असोजमा पपुवा न्युगिनीसँगै दोस्रो ओडिआई खेलमा ८६ रनको सर्वाधिक रनको इनिङ खेलेका थिए।
जुन रोहितको अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन थियो। रोहितले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै ओडिआईमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन्। उनी ५ सयमाथि रन बनाएर खेलिरहँदा दोस्रो स्थानका ज्ञानेन्द्रले १९ खेलमा ४ सय ८० रन बनाएका छन्।