युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कीर्तिमानी शतकका बावजुद पपुवान्युगिनीसँग नेपाल ६ रनले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा पपुवान्युगिनीले दिएको कीर्तिमानी २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रन मात्र बनाउन सक्यो।
यो नेपालले एकदिवसीय खेलमा बनाएको सबैभन्दा बढी रन हो।
अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन चाहिएको थियो भने २ विकेट बाँकी थियो। ब्याटिङमा सोमपाल कामी र कमलसिंह ऐरी थिए।
जसमा नेपालले तीन रन बनाउन सक्यो। सोमपाल र कमल दुवै १८-१८ रनमा नटआउट रहे।
नेपालका लागि रोहितकुमार पौडेलको शतक महत्वपूर्ण सावित बन्यो। उनले १२६ रन जोडे। यो स्कोर नेपाली ब्याट्सम्यानले एकदिवसीय बनाएको उच्च व्यक्तिगत स्कोर हो।
१०७ बल खेलेका रोहितले ७ चौका र ४ छक्का प्रहार गरे।
रोहित नेपालका लागि एकदिवसीय खेलमा शतक बनाउने दोस्रो खेलाडी बने। यसअघि पारस खड्काले सन् २०१९ मा युएईविरुद्ध ११५ रन जोड्दै पहिलो शतकको कीर्तिमान बनाएका थिए।
खेलमा रोहितले ५ सय एकदिवसीय रन पनि पूरा गरे। उनी नेपालका लागि ५ सय रन पूरा गर्ने पहिलो खेलाडी समेत बने।
रोहितले आरिफ शेखसँग पाँचौ विकेटक लागि कीर्तिमान १०४ रनको साझेदारी गरेका थिए। आरिफले ३४ रनको योगदान गरे।
ओपनर कुशल भुर्तेलले ३२ रन जोड्दा अर्का ओपनर अनिल साह ६ रनमा आउट भए। राष्ट्रिय टिममा डेब्यू गरेका युवा ब्याट्सम्यान देव खनाल शून्यमा आउट भए।
दीपेन्द्रसिंह ऐरीले १५ रन जोड्दा भीम सार्की १७ रन र पवन सर्राफ ७ रनमा आउट भए।
त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा २९२ रन जोड्यो।
पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले ७७ रनको योगदान गरे। सोमपाल कामीको बलमा बोल्ड हुनुअघि उनले १०३ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
यस्तै कप्तान असाद भालाले पनि अर्धशतक प्रहार गरे। उनले ५५ बलमा ११ चौकाको मद्दतमा ६० रन जोडे।
त्यसअघि ओपनर टोनी उराले ३८ रनको योगदान दिए। अर्का ओपनर हिरी हिरी ४ रनमा आउट भएका थिए।
सेसे बाउ शून्यमा आउट भए भने रिले हेकुरे ३१ रनमा पवन सर्राफको बलमा बोल्ड भए। यस्तै नोर्मान भानुआले ४७ रनको योगदान दिए। उनले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा नेपालका सोमपाल कामी, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। कप्तान सन्दीप लामिछाने र पवन सर्राफले १-१ विकेट हात पारे।
नेपालले पपुवा न्युगिनीविरुद्धको दोस्रो खेल शनिबार खेल्नेछ। त्यसपछि एक दिनको विश्रामपछि नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज हुनेछ।
टी-२० र एकदिवसीय सिरिज
- नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज - चैत ११ र १२ गते
- नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज - चैत १४ देखि २१ सम्म