नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरूद्धको दोस्रो एकदिवसीय खेलमा उनले शतक पूरा गरेका हुन्।
उनले १३६ बलमा ६ चौका हिर्काउँदै शतक पूरा गरेका हुन्।
खेलमा दीपेन्द्र १०५ रन बनाउँदै आउट भए। त्यसका लागि उनले १४० बल खेलेर ७ चौका प्रहार गरे।
एकदिवसीय खेलमा नेपालका लागि यो तेस्रो शतक हो। यसअघि हिजो भएको पपुवा न्युगिनीविरूद्धको पहिलो एकदिवसीय खेलमा रोहितकुमार पौडेलले शतक हिर्काएका हुन्।
नेपालका लागि पहिलो शतक हान्ने कीर्तिमान भने पूर्वकप्तान पारस खड्काको नाममा छ। खड्काले सन् २०१९ मा युएईविरूद्ध शतक प्रहार गरेका थिए।
खेलमा अर्का ब्याट्सम्यान देव खनालले ७२ रनको योगदान गरेका छन्। शुक्रबार एकदिवसीय खेलमा डेब्यू गरेका देवले पहिलो अर्धशतक बनाएका हुन्।
हिजो भएको खेलमा ६ रनले पराजित भएको नेपालले आज दोस्रो खेलमा त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।