नेपालका कप्तान सन्दीप लामिछानेले एकदिवसीय खेलमा ५० विकेट पूरा गरेका छन्।
सन्दीपले शनिबार पपुवा न्युगिनीविरूद्धको दोस्रो एकदिवसीय खेलमा विकेट लिँदै एकदिवसीय खेलमा ५० विकेट पूरा गरेका हुन्।
उनले २२ खेलमा ५० एकदिवसीय विकेट पूरा गरे। उनी नेपालका लागि एकदिवसीय खेलमा ५० विकेट पूरा गर्ने पहिलो बलर हुन्।
नेपालका लागि सर्वाधिक एकदिवसीय विकेट लिने बलर सन्दीपले ५० विकेट पूरा गर्ने क्रममा पपुवा न्युगिनीका चाल्स अमिनीलाई ३५ रनमा एलबिडब्लूको धरापमा पारे।
सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरूद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका थिए।
उनले एकदिवसीय खेलमा दुई पटक ६ विकेट लिएका छन्। उनले अमेरिकाविरूद्ध र पपुवा न्युगिनीविरुद्ध ६-६ विकेट लिएका थिए।
उनको एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन ६ विकेट लिएर ११ रन दिनु हो। यो प्रदर्शन उनले पपुवा न्युगिनीविरुद्ध गरेका थिए।
त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा पपुवा न्युगिनीले नेपालले दिएको २७९ रनको रन पछ्याउँदै ब्याटिङ गरिरहेको छ। उसले १५ ओभरमा ३ विकेट गुमाउँदा ९१ रन जोडेको छ।