पपुवा न्युगिनीले नेपालविरूद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गर्दै पपुवा न्युगिनीले सिरिज जितेको हो।
दुई टिमबीचको एकदिवसीय सिरिज नेपालले पहिलो पटक गुमाएको हो। यसअघिका सिरिजमा नेपालले कम्तिमा बराबरी खेलेको थियो।
यसअघि शुक्रबार भएको पहिलो खेलमा पपुवा न्युगिनी ६ रनले विजयी भएको थियो।
शनिबार मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा २७९ रनको लक्ष्य दिएको थियो। यो लक्ष्य पपुवा न्युगिनीले ७ विकेटको क्षतिमा ४८.४ ओभरमा पार गर्यो।
पपुवा न्युगिनीका लागि चाड सोपरले १२ बलमा नटआउट १६ रन र रिली हेकुरेले ४५ बलमा नटआउट ४८ रन जोडे।
त्यसअघि लेगा सिआकाले ९० रनको योगदान गरेका थिए। उनले १०२ बलमा १२ चौका र १ छक्का हिर्काए। चार्ल्स अमिनीले ३५ रन र सेसे बाउले ३८ रन जोडे।
बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए। पवन सर्राफले २ विकेट लिँदा सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिए।
सन्दीपले खेलमा ५० एकदिवसीय विकेट पूरा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २७८ रन जोड्यो।
नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे। पहिलो एकदिवसीय शतक हिर्काएका दीपेन्द्रले १०५ रन जोडे। उनले १४० बलमा ७ चौका हिर्काए।
युवा ब्याट्सम्यान देव खनालले ७२ रनको योगदान दिए। उनले ८६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। शुक्रबार डेब्यू गरेका देवले दोस्रो खेलमा अर्धशतक प्रहार गर्न सफल भए।
त्यसअघि ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अर्का ओपनर अनिल साह १ रनमै आउट भए।
रोहित पौडेलले ३५ रन जोड्दा भीम सार्कीले २६ रनको योगदान गरे। पवन सर्राफ ० र आरिफ शेख ४ रनम आउट भए।
सोमपाल कामीले नटआउट ४ रन जोड्दा कप्तान सन्दीप लामिछानले ९ बलमा नटआउट २४ रन जोडे। सन्दीपले अन्तिम ओभरमा १६ रन जोडेका थिए।
बलिङमा पपुवा न्युगिनीका अलेइ नाओले ३ विकेट लिए भने नोर्मान भानुआले २ विकेट हात पारे।