चेन्नई सुपर किङ्सलाई हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सले विजयी सुरूआत गरेको छ।
उद्धघाटन खेलमा कोलकाताले चार पटकको विजेता चेन्नईलाई ६ विकेटले हराउँदै सुखद सुरूआत गरेको हो।
चेन्नईले दिएको १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। कोलकाताको जितमा ओपनर अजिक्या रहाणेले सर्वाधिक ४४ रन बनाए।
यस्तै साम बिलिंग्सले २५ रन बनाउँदा नितिश राणाले २१ तथा कप्तान श्रेयस ऐरले २० रन बनाए। वेंकटेर ऐरले १६ रन जोडे।
चेन्नईका ड्वेन ब्राभोले सर्वाधिक ३ विकेट लिए। मिचेल सान्टनारले १ विकेट हात पारे।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो।
चेन्नईका लागि पूर्वकप्तान महेन्द्रसिंह धोनी सर्वाधिक ५० रन बनाए। यस्तै रोबिन उथप्पा २८ रन बनाउँदा डेब्यू कप्तानी गरेका जडेजाले २६ रन जोडे।
कोलकाताका उमेश यादवले २ विकेट लिए । बरुण चक्रवर्ती र आन्द्रे रसेलले १–१ विकेट लिए ।
कोलकाताले ३० मार्चमा रोयल च्यालेन्जर्स बेंगलोरसँग आफ्नो दोस्रो खेल खेल्नेछ। चेन्नईले अव ३१ मार्चमा लखनऊ सुपर जायन्ट्सविरुद्ध खेल्नेछ।
आज दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो दिल्ली क्यापिटल्स र मुम्बईबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साँझ पन्जाब किंग्स र बेंगलोरबीच प्रतिस्पर्धा हुनेछ।