नेपालले औपचारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २६ वर्ष भइसकेको छ। यो बीचमा नेपाली राष्ट्रिय टिमले आइसिसी विश्व क्रिकेट लिग डिभिजन ५ हुँदै एकदिवसीय टिमको मान्यता पाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको साढे दुई शतक नाघ्दा नेपाली खेलाडीले अहिलेसम्म १६ वटा अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्।
नेपालका लागि सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा छ। पारसले नेपालका लागि पाँच शतक प्रहार गरेका थिए। अलराउन्डर पारसको नाममा नेपालका लागि पहिलो एकदिवसीय र पहिलो टी-२० शतक हान्ने कीर्तिमान पनि छ।
नेपालका लागि एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने कीर्तिमान रोहितकुमार पौडेलको नाममा छ। रोहितले गत शुक्रबार पपुवा न्युगिनीविरूद्ध १२६ रन जोडेका थिए।
यसअघि यो कीर्तिमान पारस खड्का र सुवास खकुरेलको संयुक्त नाममा थियो। दुवैले एकै इनिङमा ११५ रन बनाएका थिए।
पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र अनिल मण्डलले नेपालका लागि दुई दुई शतक हानेका छन्। बाँकी सात शतक सात फरक खेलाडीले हानेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको ६ वर्षपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गर्न सकेको थियो। नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक पूर्वकप्तान राजु खड्काले प्रहार गरेका थिए।
खड्काले सन् २००३ मा नेपालका लागि पहिलो शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए।
यस्तै शक्ति गौचन, शरद भेषावकर र सुवास खकुरेलले पनि नेपालका लागि अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्।
सन् २०२२ मा नेपालले एक टी-२० शतक र दुई एकदिवसीय शतक प्रहार गरिसकेको छ।
अघिल्लो महिना राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका थिए।
आइसिसी टी-२० विश्वकप छनोटमा कुशलले फिलिपिन्सविरुद्ध नटआउट १०४ रन जोडेका थिए। जससँगै उनी टी-२० मा शतक हिर्काउने नेपालका तेस्रो खेलाडी बनेका थिए।
शनिबार सकिएको पपुवा न्युगिनीविरूद्धको दुई खेलको एकदिवसीय सिरिजमा नेपालले दुई शतक प्रहार गर्दै कीर्तिमान बनायो। नेपालले एकै सिरिजमा पहिलो पटक दुई शतक हिर्काएको हो।
शुक्रबार भएको पहिलो खेलमा रोहित पौडेलले १२६ रन जोड्दा शनिबारको दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी १०५ रनको बटुले। यद्यपी दुवै खेलमा नेपाल पराजित भयो।
नेपालले एकै वर्ष तीन अन्तर्राष्ट्रिय शतक प्रहार गरेको यो दोस्रो पटक हो। यसअघि सन् २०१२ र २०१९ मा पनि नेपालले तीन अन्तर्राष्ट्रिय शतक प्रहार गरेको थियो। यो रेकर्ड सन् २०२२ मा भंग हुने सम्भावना भने बाँकी नै छ।
सन् २०१८ मा एकदिवसीय मान्यता पाएको नेपालले त्यसयता एकदिवसीय टिमविरुद्ध तीन वटा एकदिवसीय अर्धशतक प्रहार गरेको छ। नेपालका लागि एकदिवसीय शतक प्रहार गर्ने खेलाडी परास खड्का, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी हुन्।
सन् २०१४ को टी-२० विश्वकप खेलेपछि टी-२० मान्यता पाएको बेला र तीन वर्षअघि आइसिसीले सबै टी-२० प्रतिस्पर्धालाई टी-२० अन्तर्राष्ट्रियको मान्यता दिएपछि नेापलले अहिलेसम्म तीन टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेको छ। नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल हुन्।
नेपालका अन्तर्राष्ट्रिय शतक
राजु खड्का (१०५* रन) भुटानविरुद्ध - एसिसी इमर्जिङ नेसन्स प्रतियोगिता (२००३)
शक्ति गौचन (१०६* रन) इटालीविरुद्ध - आइसिसी विश्वकप छनोट सिरिज (२००५)
शरद भेषावकर (१०५ रन) फिजिविरुद्ध – आइसिसी विश्व क्रिकेट लिग डिभिजन ५ (२०१०)
सुवास खकुरेल (११५ रन) अमेरिकाविरुद्ध - आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ (२०१२)
अनिल मण्डल (११३ रन) डेनमार्कविरुद्ध - आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ (२०१२)
पारस खड्का (१०६* रन) कुवेतविरुद्ध – एसिसी ट्रफी एलाइट (२०१२)
ज्ञानेन्द्र मल्ल (११४ रन) सिंगापुरविरुद्ध – आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ (२०१४)
अनिल मण्डल (१०० रन) स्कटल्याण्डविरुद्ध – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (२०१५)
पारस खड्का (१०३ रन) नामिबियाविरुद्ध –आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (२०१६)
पारस खड्का (११२* रन) यूएईविरुद्ध – आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू (२०१८)
पारस खड्का (११५ रन) यूएईविरुद्ध – नेपाल र युएईबीचको एकदिवसीय सिरिज (२०१९)
पारस खड्का (१०६* रन) सिंगापुरविरुद्ध – सिंगापुर ट्राई नेशन टी-२० सिरिज (२०१९)
ज्ञानेन्द्र मल्ल (१०७ रन) भुटानविरुद्ध - १३औं दक्षिण एसियाली खेलकुद (टी-२० फर्म्याट २०१९)
कुशल भुर्तेल (१०४* रन) फिलिपिन्सविरुद्ध - आइसिसी टी-२० विश्वकप छनोट (२०२२)
रोहित पौडेल (१२६ रन) पपुवा न्युगिनी(पिएनजी)विरुद्ध - नेपाल र पिएनजीबीचको एकदिवसीय सिरिज (२०२२)
दीपेन्द्रसिंह ऐरी (१०५ रन) पपुवा न्युगिनी(पिएनजी) विरुद्ध - नेपाल र पिएनजीबीचको एकदिवसीय सिरिज (२०२२)